नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार शुरु

लोकपथ
105
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् । दुबै बैंकले आज बुधबार मर्जर मार्फत नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाउँबाट विधिवतरुपमा एकीकृत कारोबार शुरु गरेका हुन ।

समृद्धिको पथमासंगै अघि बढ्दै भन्ने मुल नाराका साथ एकीकृत कारोबार शुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्तरूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे ।

दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नया बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल बनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक ररहेका छन् ।

बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रूपमा सुपरिचित रहिआएका दुबै बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तिय सूचकहरूमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने धारणा अध्यक्ष पाँडेले व्यक्त गरे ।

यसका साथै वहाले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मजरका लागि प्रेरित गरेको बताए । यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंक क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए ।

मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।

यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुयाउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक दुवै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीवर्ग लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुबै बैंकका अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गरे ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैंयाँ पुगेको छ भने कुल पुँजी ५८ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ । यसैगरी कुल सम्पती चार खर्ब ७१ अर्ब, कुल निक्षेप तीन खर्ब ६० अर्ब दुई करोड तथा कुल कर्जा लगानी तीन खर्ब २९ अर्ब छ करोड रुपैंयाँ पुगेको छ । कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ । मर्जरपछि बैंकको शाखा संख्या दुई सय ९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ४९ शाखारहित बैंकिङ्ग सेवा एक सय नौं तथा एटिएम सञ्जाल दुई सय ७९ वटा पुगेको छ ।

निकटतम भविष्यमा थप शाखा सन्जाल विस्तार गरी देशका ७५ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुंच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?