काठमाडौं । यस पटकको निर्वाचन अघिल्ला निर्वाचनहरुभन्दा फरक रह्यो । ठूला दल भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको जनमत क्षयीकरण भयो । मधेश मसीहाका नाममा करिब दुई दशक यता गर्जिरहेका मधेशी दलहरु पनि किनारा पुगे ।
पाँच दलीय गठबन्धनले त्यसमा आवद्ध दलहरुको लाज छोपिँदा एमालेले अघिल्लो निर्वाचनमा पाएको हैसियत गुमायो । संसद त्रिशंकू आकारमा बन्दा नयाँ दर्ता भएका दलहरु संसदमा अप्रत्याशित नतीजासहित उपस्थित भए ।
मतदातामा बढ्दो निराशा र आक्रोश आफूतिर लक्षित हुने देखेपछि चितवनको आफ्नो निर्वाचन क्षेत्र नै छाडेर गोर्खामा चुनाव लडेका प्रचण्ड जीवनमा तेस्रो पटक प्रधानमन्त्री पदमा आसीन भएका छन् ।
कांग्रेससहितका दलको साथ रहँदा पनि चितवनमा जीतका लागि सुनिश्चित हुन नसक्दा प्रचण्ड माओवादी राजनीतिका लामो समयका सारथि डा. बाबुराम भट्टराईको गोर्खास्थित क्षेत्रमा चुनाव लड्न पुगे । भट्टराई स्वयंलाई पनि अघिल्लो चुनावमा कांग्रेसले मत हालेर जिताइदिएको थियो । यस पटक पनि कांग्रेसकै मत लिएर प्रचण्ड सिंहदरबार उक्लिएका हुन् ।
चुनाव जितेर आएपनि चुनावी गठबन्धनका नेतृत्वकर्ता कांग्रेसले आफूलाई प्रधानमन्त्री नबनाउने भएपछि प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगे । यद्यपि, विश्वासको मत लिने दिनसम्म आइपुग्दा प्रचण्डको हात थाम्न संसदको सबैभन्दा ठूलो दल कांग्रेस नै तयार भयो । प्रतिनिधिसभाको करिब शतप्रतिशत सांसदको विश्वासको मत पाउँदै उनले तेस्रो कार्यकालको यात्रा शुरु गरेका छन् ।
रमाइलो के छ भने प्रचण्ड प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालमा आइपुग्दा उनले सशस्त्र हिंसा थाल्दाका बखत उठाएका धेरै विषयबाट स्खलित भएका छन् । संसदीय व्यवस्था अन्त्य गरेर सर्वहारा अधिनायकत्वमा कम्युनिष्ट शासन लाद्ने उत्कट चाहनाले एक दशक देशभरका युवालाई युद्धको भट्टीमा होमेका उनी तीन दशकपछि आइपुग्दा संसदीय राजनीतिको माखेसाङ्लोमा रत्तिन पुगेका छन् ।
विश्व राजनीतिमै असान्दर्भिक विचार बोकेर हजारौं नागरिक हत्याको कारक बनेका प्रचण्ड अन्ततः ‘मूसी भवः’ को राजनीतिक नियतीमा आइपुगेका हुन् । झण्डै झण्डै सकिने चरणमा पुगेको उनको सशस्त्र हिंसात्मक आन्दोलनलाई सुरक्षित अवतरणमा ल्याउन देशभित्र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कम्मर कस्दा वाह्यरुपमा उनी शरणागत भएको भारतले सघायो ।
संसदीय भूमिकाबाटै असान्दर्भिक बनाइएपछि तत्कालीन सात दल शासकीय शक्ति हातमा मुठ्याएर बसेका राजाविरुद्ध माओवादीसँग लगनगाँठो कस्न पुग्यो । जसले अढाइ सय वर्ष लामो राजसंस्था नेपाल भूमिबाट अन्त्य भयो । त्यसै बिन्दूबाट राजा र राजसंस्थासँग जोडिएका विषयहरुलाई प्रहार गर्न थालियो । राजा महाराजाको शालिकहरु तोड्ने, लडाउनेदेखि राजपथलाई लोकपथ नामाकरण गर्ने लहडसम्म देखियो ।
त्यही निशाना पारिए, मुलुक निर्माणको थालनी गर्ने पृथ्वीनारायण शाहसम्म । देशको नामदेखि झण्डासम्म फेर्ने प्रस्ताव संविधानसभामा ल्याउने माओवादीका अध्यक्ष प्रचण्ड आजका दिनमा २०६३ सालमा आफूहरुले नै खारेज गरेको पृथ्वी जयन्ती मनाउन बिदा दिने निर्णय गर्ने बिन्दूमा आइपुगेका छन् ।
प्रचण्डले पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्ने निर्णय त्यतिबेला गरे, जतिबेला तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो त्यही पृथ्वीको जन्मथलो गोर्खाले उनलाई जुराइदियो । यसअर्थमा प्रचण्ड गोर्खा र पृथ्वीप्रति कृतघ्न नभई कृतज्ञ रहे भनौं ।
त्यतिमात्र होइन, दौरा सुरुवाललाई हेयको दृष्टिले हेर्ने उनै प्रचण्डले यसपटक प्रधानमन्त्री पदको शपथ लिँदा त्यसैलाई राष्ट्रिय पोशाकका रुपमा पहिरिए । शपथ मात्र होइन, संसदबाट विश्वासको मत लिँदा पनि उनी दौरा सुरुवालमै ठाँटिए । बरु पोशाकमा आएको फेरबदलप्रति उठेका प्रश्नलाई उनले रोष्ट्रमबाटै ‘म कहिले पनि दौरा सुरुवालको विरोधी थिइँन’ भन्दै लामो प्रष्टीकरण दिन भ्याए ।
१६ वर्षअघि २०६३ सालमा खारेज गरिएको एकता दिवसका अवसरमा दिइने पृथ्वी जयन्तीको बिदा फेरि दिने निर्णयसम्म आइपुग्दा प्रचण्डले राजनीतिमा एक फन्को लाइसकेका छन् । सम्भवतः उनी अब सत्ता राजनीतिको डिलतिर पनि छन् । त्यसैले होला संसदमा उनले भने, ‘खैं त धेरै क्रान्तिकारी बन्दा पनि भोट त हालेनन् । बरु दौरा सुरुवाल लगाउनेहरुले नै बढी जिते ।’
यतिबेला उनका सारथिहरु पनि मोहन वैद्य, बाबुराम भट्टराई, विप्लवहरु नभई केपी ओली, राजेन्द्र लिङ्देन, रवि लामिछाने, सीके राउत, रेशम चौधरीहरु हुन आइपुगेका छन् । अनि उनको नियती सत्ता, शक्ति र पदका लागि घडीको लङ्गूर झै कहिले कांग्रेसको सेप त कहिले एमालेको सेप लाग्नुपर्ने बनेको छ ।
अझ भू–राजनीतिक शक्तिकेन्द्रहरुलाई रिझाउन दक्षिण जाँदा हिन्दू धर्म, दक्षिणायणको स्वार्थ विपरित नचल्ने बाचा गर्नु र उत्तर जाँदा आफूहरु त एउटै गोत्रका कम्युनिष्ट नै त हौं, म अन्यथा गर्दिन भन्दै कसम लिनु उनको रहरभन्दा बढी बाध्यता देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया