ब्याजदर घटाउँदै वाणिज्य बैंक

लोकपथ
56
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

बैंकर्स सङ्घको अध्यक्षमा केसी

बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् ।

यसअघि केसी सङ्घको उपाध्यक्ष रहेका थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो । प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ ।

नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?