जब ब्ल्याक बेल्ट पाएँ ....मार्सल आर्टस् ६ औं ‘डान’ अशोकको खेलकुदसँगै जागिरे अनुभव

रिङभित्र कुटाकुट मात्रै हुँदैन, विद्यार्थीले ‘हुस्’ भन्दा आनन्द लाग्छ

अशोक कुमार श्रेष्ठ मार्सल आर्टस्मा ६ औं ‘डान’ भइसकेका छन् । 'नेपाल क्योकुशिन सेइशिन काइकान कराँते 'नामक विधाबाट ६ औं डानसम्म पुग्ने उनी एकमात्र नेपाली हुन् । यही क्षेत्रमा मात्र संलग्न भएको भए शायद यो कुरा पनि सामान्य लाग्थ्यो होला तर, उनी खेलाडी सँगै नेपाल सरकारका निजामती कर्मचारी पनि हुन् । हाल उनी नापी अधिकृतका रुपमा कार्यरत छन् । हेर्दा शालीन, शान्त देखिने उनको व्यक्तित्त्व रिङ भित्र छिरेपछि आफैं आक्रमक बन्ने उनी बताउँछन् । भन्छन्, ‘रिङभित्र हार्ड हुन्छु अनि अफिसमा कूल’ ।
अहिले उनी ‘नेपाल क्योकुशिन सेइशिन काइकान कराँते एसोसिएसन’ नामक संस्थाका अध्यक्ष छन् । संस्थाले कराँते प्रतियोगिता आयोजना गर्नेदेखि किशोरीको प्रतिरक्षा गर्ने क्षमता अभिवृद्धि गर्नका निमित्त कराँते प्रशिक्षण दिने सम्मका कार्यक्रमहरु गर्दै आएको छ । त्यसैले, बिहान उनी संस्थाकै काममा व्यस्त हुन्छन् अनि दिउँसो अफिसको काममा ।
यसरी अशोकले आफ्नो बिहान खेलकुदलाई छुट्याएका छन् भने दिन जागिरलाई ।

खेल र कर्मचारी जीवनलाई समानान्तर रुपमा अघि लग्न सफल नेपाल क्योकुशिन सेइशिन काइकान कराँते एसोसिएसन’का अध्यक्ष
अशोक कुमार श्रेष्ठ सँग लोकपथकर्मी प्रेरणा तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :


आराम हुनुहुन्छ ? 
आराम छु । चिसो मौसम भएपनि हामी बिहानै ट्रेनिङ गर्छौ । त्यसैले मौसमले खासै असर गरेको छैन ।


जागिर र खेलकुद दुवैलाई व्यवस्थापन गरेर दिनचर्या कसरी बितिरहेको छ ?
मेन्टेन गर्ने कुरा आफूमा भर पर्दछ । बिहान सुतेर बिताउने समय विभिन्न क्षेत्रमा लगाउन सकिन्छ । म बिहानको समय मार्सल आर्ट सिकाउन जान्छु  । शरीर स्वस्थ्य राख्नको लागि पनि यो आवश्यक छ । फेरि शरीर स्वस्थ्य भयो भने मस्तिष्क पनि स्वस्थ्य हुन्छ ।
त्यसपछि म आफ्नो काममा जान्छु । खेलकुदमा जति सक्रिय भएर लाग्छु आफ्नो जागिरमा पनि उत्तिकै एनर्जेटिक तरिकाले काम गर्छु । 
बेलुकाको समय भने म अध्ययनलाई दिन्छु ।


स्पोर्टस्मा संलग्न व्यक्ति शारीरिक रुपमा बढी सशक्त हुन्छन् त्यस्तै सरकारी क्षेत्रमा लागेका व्यक्ति बौद्धिक रुपमा अलि सशक्त हुन्छन् भनिन्छ । तपाई आफूलाई कसरी व्याख्या गर्नुहुन्छ ? 
यो एउटा अनुभव हो । हामी जुन क्षेत्रमा आवद्ध छौँ त्यसमा आफ्नो शतप्रतिशत दिनैपर्छ । हामी जुन फिल्डमा छौँ त्यही अनुसार आफूलाई ढाल्न सक्नुपर्यो । 
मार्सल आर्टमा जाँदा म हार्ड टाइप को हुन्छु भने काममा जाँदा कुल टाइपको हुन्छु । म बीचको बाटो अपनाइरहेको छु । 


मार्सल आर्टलाई नै प्रोफेसन बनाउने बारेमा सोच्नुभएन ? 
मलाई सानैदेखि आर्मी, पुलिस असाध्यै मनपर्ने । त्यसैले पनि मार्सल आर्टतिर रुचि बढ्दै गयो । तर त्यसबेला यो खेललाई त्यति सम्मान गरिदैन थियो । मनोरञ्जनका लागि खेल्नु आफ्नो ठाउँमा छ तर, व्यवसायिक रुपमा खेल्ने कोही थिएन भन्दा फरक नपर्ला । 
यद्यपी, यही क्षेत्रमा काम गर्ने बारेमा मैले नसोचेको होइन र प्रयास गर्दै नगरेको पनि होइन । 
२०५१ सालदेखि खेल्दै जाने क्रममा जब ब्ल्याक बेल्ट लिए, त्यसपछि खेलकुद क्षेत्रकै सहायक ... को पोस्टमा जागिर गर्नको लागि आवेदन दिएँ । तर त्यसबेला हामी कुनै पनि खेलाडी सेलेक्ट भएनौं । 
त्यसपछि, बिएल गर्दैगर्दा आर्मीमा लाग्न खोजेँ तर त्यसमा पनि सफल भइन । नेपालमा जे पनि पहुँचले सम्भव हुने अनि आफ्नो कोही पनि पहुँचमा नभएको ।  कसरी सफल हुनु त?
त्यसपछि मैले केही गर्नैपर्छ भन्ने भावले लोक सेवाको तयारी गरें । नाम निस्कियो । अहिले खेलकुद र आफ्नो जागिर दुवैलाई अगाडि लगिरहेको छु । 

घरमा आमा बा ले सपोर्ट गर्नु भएको थियो ? 
सपोर्ट नै भन्नुपर्छ किनकी खेल्न जाउ तर घाउ चोट लगाएर नआउ भन्नुहुन्थ्यो ।
मार्सल आर्ट, कराँते भनेपछि  एकआपसमा जुध्ने, कुट्ने खेल हो भन्ने सबैको मानसिकता थियो । यसमा पनि छुट्टै अनुशासन हुन्छ, नीतिनियम हुन्छन् भन्ने अझै पनि कतिलाई थाहा छैन होला । त्यसैले, त्यो जमानामा बुबाआमा मेरो सुरक्षालाई लिएर केही सचेत हुनु स्वभाविक नै हो जस्तो मलाई लाग्छ । 


 

अहिले सरकारी जागिरको कुन फिल्डमा हुनुहुन्छ ? 
नापी विभागको अधिकृतका रुपमा कार्यरत छु । 


सरकारी काम गर्न सजिलो कि मार्सलआर्ट सजिलो ? 
मार्सलआर्ट गाह्रो छ तर यसलाई सजिलो तरिकाले लिन सक्नु पर्यो  । त्यसैगरी, जागिरको क्षेत्रमा पनि रमाएर गर्नसक्ने हुनु प¥यो ।  जुनै क्षेत्रमा भएपनि इन्जोए गरेर काम गर्न सक्नुपर्यो । मलाई त दुवै रमाइलो लाग्छ ।


मार्सल आर्ट कति वर्षदेखि शुरु गर्नुभएको ? 
मैले एस एल सी पास गरे पछि ५१ सालबाट सुरु गरेको हो । त्यो समयामा म १४–१५ वर्षको थिए ।
 
सानोमा अलि छुच्चो र चकचके किसिमको हुनुहुन्थ्यो कि क्या हो ? 
नाई । त्यस्तो किसिमको त थिइन तर अरुले कुटेको, झगडा गरेको हेर्दा चाहिँ मज्जा लाग्थ्यो । अनि आफूपनि यसरी नै जित्न पाए हुन्थ्यो, मेडल लगाएर फोटो खिच्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो  ।  पुलिस आर्मी हुने इच्छा पनि विस्तारै विकास हुँदै गयो । 


 

अफिसमा तपाईको खेलजीवन थाहा हुनेले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
 सबैलाई थाहा छ  । तर, शुरुमा कसैलाई पनि विश्वास लाग्दैन रे । ‘तपाई मार्सल आर्ट खेल्नुहुन्छ जस्तो लाग्दैन’ भन्नुहुन्छ सबैले ।

 
मार्सल आर्टमा आफूले अहिलेसम्म पाउनु भएको सबैभन्दा ठूलो उपलब्धि के हो जस्तो लाग्छ तपाईलाई ? 
हाम्रा १५ सय विद्यार्थीहरु विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । उनीहरुले भेट्दा ‘हुस्’ भन्दै अभिवादन गर्छन् । यो हाम्रो खेलको ‘नमस्कार’ जस्तै हो । एउटा खेलाडीको नाताले यस्तो सम्मान पाउँदा खुसी लाग्छ । 


प्रशिक्षणको बारेमा सोच्नु भएको छैन ? भावी योजना केकस्ता छन् ?
मैले फुर्सद पाउने भनेको बिहानको समय मात्र हो । त्यही टाइममा म ट्रेनिङ गर्छु र गराउँछु पनि । 
त्यसैगरी, म ‘नेपाल क्योकुशिन सेइशिन काइकान कराँते एसोसिएसन’को अध्यक्ष हुँ । सो संस्थामार्फत् मैले हरेक वर्ष १४ वटा क्याटेगोरीमा राष्ट्रिय व्यापी प्रतियोगिता आयोजना गर्दै आएको छु । अब यही कार्यक्रमलाई अझै बढाउँदै लग्ने योजना छ । साथै विशेष गरी किशोरीहरुलाई आफ्नो प्रतिरक्षाका निमित्त र खेलकुदमा अझै प्रोत्साहन गर्नका निमित्त ठाउँठाउँमा मार्सल आर्टको प्रशिक्षण पनि दिने योजना छ । 


 


 

Leave a comment