काठमाडौं महानगरका सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुका लागि एकै प्रकारको पोशाक लागू गर्ने भएको छ । 

महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउन लागेको हो । 

विभागका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ । त्यस्तै हामीले पनि महानगरका विद्यालयमा एउटै प्रकारको पोशाक ल्याउन लागेका हौँ ।

महानगरभित्रका सबै विद्यालयमा तीन र चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको उनले बताए । 

विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघ संगठन र अभिभावकसँग छलफल, अन्तक्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ ।

योसागै महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउन लागेको छ । 

यसका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ ।

आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?