काठमाडौं । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
बिहीबार लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दिएको निवेदनमा सुनुवाइ सकिएसँगै उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।
उच्च अदालत पाटनमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासमा सुनुवाई भएको हो । गत कार्तिक १८ गते जिल्ला अदादत काठमाडौंले प्रारम्भिक प्रमाणका आधारमा लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।
लामिछानेले गत मंसिर २९ गते जिल्ला अदालत काठमाडौंको आदेश बदरको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । उनीमाथि नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।
तर, लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया