एभरेस्ट प्रिमियर लिग क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी हुँदै

काठमाडौं । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्स लगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन÷तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ ‘आयरल्याण्ड’, जोन सिमसोन तथा जर्ज स्कट ‘इङल्याण्ड’लाई क्लबमा अनुबन्ध गरेको छ । 

शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे ‘नेदरल्याण्डस’, मोहम्मद नाभिद ‘युएइ’, रवि इन्दर सिंह ‘भारत’ तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत ‘हङकङ’ र पाउल भान मेकेरेन ‘नेदरल्याण्डस’लाई क्लबमा अनुबन्ध गरेको छ ।

 

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौं किङ्स–११ ले रोहन मुुस्तफा ‘युुएई’ र केभिन ओ ब्रायन ‘आयरल्याण्ड’ तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर ‘भारत’लाई ल्याएको जनाएको छ ।

शक्ति गौचनको कस्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया ‘हङकङ’, काइल कोइट्जर ‘स्कटल्याण्ड’ र पाउल कोलिन ‘इङल्याण्ड’लाई क्लबमा ल्याएको छ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ । 

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई/दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । 

मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले समेत मान्यता दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?