क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्धामा धरौटीमा रिहा भएका छन् । २० लाख धरौटी तिरेपछि क्रिकेटर लामिछाने आज थुनामुक्त भएका हुन् ।
रिहा हुनुअघि केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । न्यायाधिश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामापठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा शशर्त छाड्न आदेश दिएको थियो ।
भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिईन् । असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका थिए । नाबालिका बलात्कारको आरोपमा कात्तिक १८ गते सन्दीप पुर्पक्षका लागि थुनामा परेका थिए ।
यस्ता छन् सन्दीपलाई अदालतले तोकेका शर्त :
१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ । यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ ।
२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।
३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नू- नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ ।
४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ ।
५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ । त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ । जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ । यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ ।
यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ । धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वतः निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ ।
सन्दीपको मुद्दामा अब के हुन्छ ?
सन्दीपको मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा रहेको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो । सन्दीपले आफूलाई जेल बाहिर रहेर नै अनुसन्धान गर्न आग्रह गरेका थिए । जिल्ला अलदालत काठमाडौंको आदेशपछि थुनामा रहेका लामिछानेले उच्च अदालत पाटनमार्फत् थुना बाहिरै रहेर मुद्दा लड्ने अनुमति पाएका हुन् ।
२० लाख घरौटी बुझाएर थुनामुक्त भएपनि उनीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दालाई निरन्तरता दिनेछ । धरौटीमा रिहा भएपनि सन्दीपले नेपाल छाड्न पाउने छैनन् भने जिल्ला अदालतको अनुमति बिना काठमाडौं नै पनि छाड्न पाउने छैनन् । अदालतले बोलाएको समयमा सन्दीप हाजीर हुनुपर्ने हुन्छ ।
‘मुद्दाको फैसला नभई थुनाबाहिर रहेर अनुसन्धानलाई सघाउन सन्दीपले शर्तहरु स्वीकारेकाले मात्र उच्च अदालत पाटनले बाहिर बसेरै मुद्दाको प्रतिरक्षा गर्न सहुलियत दिएको हो । मुद्दाको अन्तिम फैसलासम्मको कार्यविधि भने काठमाडौं जिल्ला अदालतमार्फत् नै हुने छ,’ अधिवक्ता विकाश भट्टराईले लोकपथसँग भने ।
के भन्छ नेपाल क्रिकेट संघ क्यान ?
सन्दीपलाई पाटन अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै अब सन्दीप खेल जीवनमा फर्कन्छन् वा फर्कन्न् भन्ने चासो सर्वत्र भएको छ । जिल्ला अदालत काठमाडौंबाट मुद्दाको किनारा लागि नसकेकाले उनलाई सामाजिक जीवनमा सहज हुन गाह्रो छ । सबै कठिनाईहरुलाई चिरेर सन्दीपले आगामी यात्रा बढाउनुपर्ने हुनसक्छ ।
नेपाल क्रिकेट संघले पनि सन्दीप धरौटीमा रिहा भएपछि कानुनी परामर्शका आधारमा अगाडी बढ्ने जनाएको छ । ‘यसबारेमा हामी कानुनी परामर्श गर्छौं । छलफल गर्छौं । त्यस अनुसारले अगाडी बढ्छौं,’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लोकपथसँग भने, ‘सन्दीप नेपाली क्रिकेट टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । उनको आवश्यकता नेपाली क्रिकेटलाई छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया