एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं । एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पक्राउ परेका छन् ।

ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले अग्रवाललाई उनकै घरबाट पक्राउ गरेको हो । 

कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । 

रञ्जितले उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भएको खुलेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । 

प्रहरीको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दाबी गरेका थिए । उनको बयानपछि प्रहरीले सोनुलाई पक्राउ गरेको थियो । तर, वृत्तमा ल्याएर सोधपुछ गर्दा उनी आफू रञ्जित नभई सोनु नै भएको बयान दिएका थिए । 

साथै सोनु नेपाली मूलका अष्ट्रेलियन नागरिक समेत भएको खुलेको छ । 

कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालका अनुसार सोनुको पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक रहेको खुलेको हो । 

सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?