काठमाडौं । नेपालमा बीमा कम्पनीहरुको कुल शाखा संख्या तीन हजार तीन सय २९ वटा पुगेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक समेतलाई लिएर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि सम्वन्धी प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷७९ सम्म सञ्चालनमा रहेका ३८ वटा बीमा कम्पनीहरुले उक्त संख्यामा शाखा बिस्तार गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार हाल नेपालमा १८ वटा जीवन बीमा, १८ वटा निर्जिवन बीमा र दुई वटा पुर्नबीमा कम्पनी समेत गरी ३८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यसमा नेपाल बीमा प्राधिकरणले पछिल्लो समय सञ्चालनको लागि अनुमती दिएको लघुबीमा कम्पनीहरु भने समाबेश गरिएको छैन । जस अनुसार नेपालमा जीवन बीमा कम्पनीहरुको दुई हजार दुई सय ९२ वटा र निर्जिवन बीमा कम्पनीहरुको एक हजार ३७ वटा समेत गरी कुल तीन हजार तीन सय २९ वटा शाखाहरु सञ्चालनमा रहेका हुन, राष्ट्र बैंकले भनेको छ ।
जीवन बीमा शाखाको प्रदेशगत विश्लेषण गर्दा आ.ब. २०७८÷७९ सम्म मुलुकको कुल जीवन बीमा शाखामा सबैभन्दा धेरै बागमती प्रदेशको २६ दशमलव पाँच प्रतिशत हिस्सा रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको छ दशमलव ३३ प्रतिशत हिस्सा रहेका छ । त्यसैगरी, कुल जीवन बीमा शाखामा लुम्बिनी प्रदेशको १५ दशमलव ९२ प्रतिशत, प्रदेश १ को १६ दशमलव ४० प्रतिशत, मधेश प्रदेशको १४ दशमलव एक प्रतिशत, सुदुरपश्चिम प्रदेशको ११ दशमलव २१ प्रतिशत र गण्डकी प्रदेशको १० दशमभलव आठ प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्र बैंकका अनुसार मुलुकको कुल निर्जीवन बीमा शाखामा सबैभन्दा धेरै बागमती प्रदेशको ३० दशमलव १८ प्रतिशत हिस्सा रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको चार दशमलव ४४ प्रतिशत हिस्सा रहेका छ ।
त्यसैगरी, कुल निर्जीवन बीमा शाखामा लुम्बिनी प्रदेशको १६ दशमलव ९७ प्रतिशत, प्रदेश १ को १५ दशमलव ९१ प्रतिशत, गण्डकी प्रदेशको १३ दशमलव २१ प्रतिशत, मधेश प्रदेशको १२ दशमलव २५ प्रतिशत र सुदुरपश्चिम प्रदेशको सात दशमलव छ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया