काठमाडौं । रग्बी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिवार टुँडिखेलमा सार्वजनिक गरिएको छ ।
नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो ।
मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो ।
सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ । सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताए ।
विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवद्र्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया