काठमाडौं । डिफेन्डिङ च्याम्पियन विराटनगर वारिवर्सले जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिवार भएको उद्घाटन खेलमा पारस खड्को टिम विराटनगरले ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराउँदै प्रतियोगिता शुखद नतिजा निकालेको हो ।
ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले १९ दशमलब ५ ओभरमा मात्र ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।
विराटनगरका लागि करण केसीले नटआउट ३६ रनको योगदान दिए । उनले ३ छक्का र १ चौका प्रहार गरे । आसिफ शेखले १९ रन, अनिल कुमार साहले ११ रन तथा कप्तान पारस खड्काले ८ रन जोडे । ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रनको योगफल तयार पारेको थियो ।
ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन, सन्नी पटेलले २० रन तथा पवन शार्रफले १४ रन जोडे । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले समान २-२ विकेट लिए ।
जीतपछि विराटनगरले महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत भोली ‘आइतवार’ ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया