काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनापछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
तर अझै वन तथा बातावरण र खेलकुद मन्त्रालय भने मन्त्री विहिन छ । सरकारलाई समर्थन गर्ने दलहरु सरकारमा आउन चाहेमा समावेश गराउन प्रधानमन्त्रीले सरकारलाई पूर्णता नदिएका हुन् ।
२३ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछिको वरियतामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् । त्यसपछिको वरियतामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् ।
गत निर्वाचनमा धेरै नयाँ अनुहारको संसद प्रवेशपछि सरकारमा समेत नयाँ अनुहारको बाहुल्यता रहेको छ । त्यसो त यसपालाको मन्त्रिमण्डलमा अघिल्ला मन्त्रिमण्डलभन्दा धेरै नयाँ अनुहारको प्रवेशले केही आशाको सञ्चार गरेको त छ । तर मन्त्री नियुक्त भएको दिन गरिएका थुप्रै बाचाहरु बाचामा मात्र सिमित हुने अवस्था नआउला भन्न सकिन्न् ।
शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री तथा राज्यमन्त्रीहरुले आ–आफ्ना घोषणा र प्रतिबद्धता व्यक्त गरेका छन् । ती कति पूरा हुन्छन् हेर्न बाँकी छ ।
कुन मन्त्रीको प्रतिबद्धता कस्तो ?
नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गर्दै ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरेका छन् ।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए ।
त्यस्तै नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन् ।
पदभार सम्हाल्दै मन्त्री पौडेलले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउनेसहित विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन् ।
यता नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् ।
पदभार ग्रहण गर्दै उनले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् । उनले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गरिन् ।
त्यस्तै नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले पदभार ग्रहण गर्दै सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाएका छन् ।
नवनियुक्त मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताए । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए ।
यता नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने घोषणा गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने स्पष्ट गरेका छन् ।
सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरे ।
त्यस्तै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए ।
यता नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ” पदभार ग्रहण गर्दै उनले भने ।
स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनको धारणा रहेको छ । त्यसैगरी सकेसम्म देशमा रोजगारी दिने र नभएमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ रहेको छ ।
यता नवनियुक्त स्वास्थ्य मन्त्री तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्।
मंगलबार पदभार ग्रहण गर्दै उनले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’
संविधान निर्माणपछि भएको यो दोस्रो आम निर्वाचनपछि बनेको सरकारबाट जनतामा ठूलो आशा छ । तर यसअघिका सरकार र तिनका मन्त्रीहरुले गरेका बाचाहरु पूरा नभएको कारण अपेक्षा गरिए अनुसार काम होला भन्नेमा विश्वस्त हुने ठाउँ भने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया