दयाहाङ राई फेरिएकै हुन्?

काठमाडौं । केही वर्षअघिसम्म स्टार अभिनेता दयाहाङ राईका एकपछि अर्को फिल्म आइरहेका हुन्थे । उनी फिल्मका प्रचारमा देखिँदैनथे । निर्माताको तारन्तारको गुनासो हुन्थ्यो – उहाँ व्यस्त भएर आइदिनुभएन ।

यो बीचमा उनले अभिनय गरेका कति फिल्म चले, कति फ्लप भए । दयाहाङको क्रेज हलचल गरेन । तर, त्यो पनि समय पनि आयो कि, दयाहाङका फिल्मले दर्शकको साथ पाउन छोडे । मिडियामा पनि खासै नदेखिने, अन्तर्वार्ता पनि नदिने दयाहाङ पछिल्लो समय भने आफूले खेलेका धेरै फिल्मको प्रमोसनमा देखिएका हुन्छन् । प्रमोसनमा मात्र होइन, उनी आजभोलि फिल्मका गीत र ट्रेलर रिलिज कार्यक्रममा पनि उपस्थित हुने गर्छन् ।

त्यसो त पछिल्लो समय छानेर मात्र फिल्म खेल्ने भनेर भनिरहेका दयाहाङ राईले अहिले आफूले अभिनय गरेका फिल्मलाई समय दिन थालेका हुन् त?

केही समयको ग्यापपछि फेरि पर्दामा देखिन लागेका दयाहाङका केही फिल्म रिलिजको क्रममा छन् । त्यतिबेलै थाहा हुनेछ, उनले आफूले अभिनय गरेका फिल्मको प्रचारमा समय दिनेछन् या अहिले फुर्सदको बेलामा मात्र केही फिल्मको गीत रिलिज कार्यक्रममा पनि आएका हुन् ।

यी सबै कुराले उनको करिअरलाई पक्कै पनि केही न केही प्रभाव पार्ने नै छ । तर, अब दयाहाङका लागि भने फिल्म चल्नैपर्ने अवस्था सिर्जना भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?