विदेशको ‘विकल्प’ मा रिक्सा रोजेका युवाहरूको गुनासो – ट्राफिकले थर्काउँछ, मनपरी जरिवाना उठाउँछ

बुटवल । गुल्मीका चन्द्रकान्त घिमिरेले अटो रिक्सा चलाउन थालेको झण्डै दुई वर्ष भयो । यी दुई वर्षमा उनले धेरै थोक भोगेका छन् । पहिले जति सहज थियो, त्यसको तुलनामा अहिले जोखिम बढी छ रिक्सा चलाउन । कमाइ कम छ । सानो गल्ती भएर ट्राफिकले समाइहाल्यो भने दुई दिनको कमाइ झ्वाम भइहाल्छ ।

कहिलेकाहीँ त उनलाई रिक्सा बेचेर विदेश लागौँ कि भन्ने झोँक चल्छ ।

उनै चन्द्रकान्तले कुनै बेला त्यही विदेशको विकल्पका रुपमा रिक्सालाई आफ्नो जीवन देखेका थिए । अहिले उनी गुनासो गर्छन् – ‘नेपालमा काम गरेर खान गाह्रो रैछ ।’

जे होस्, जेनतेन जीवन चलेकै छ । उनले रिक्सा गुडाएकै छन् ।

केही वर्षअघिसम्म बुटवलमा खासै अटो रिक्सा थिएनन् । रिक्सावालाबीच धेरै प्रतिस्पर्धा नहुँदा कम भीड हुने गर्थ्यो । अहिले प्रतिस्पर्धा मात्र हैन, ट्राफिकको किचकिच पनि उत्तिकै छ रिक्सावालामाथि ।

‘अहिले त रिक्सा पनि धेरै भए अर्कातिर ट्राफिकले पनि धेरै ठाउँमा चलाउन दिँदैन, कमाइ खासै हुँदैन ।’, चन्द्रकान्त सुनाउँछन् ।

चन्द्रकान्त मात्र होइन, बुटवलमा अटोरिक्सा चलाउनेमध्ये धेरैले अहिले रिक्सा चलाउनुको विकल्प खोज्न थालेका छन् । कुनै समय विदेश जानुको सट्टा नेपालमै केही गर्न सकिन्छ भनेर अटो चलाउन जुटेका युवाहरुको जत्थाले अहिले नेपालमा काम गर्ने वातावरण नभएको गुनासो गर्न थालेका छन् ।

बुटवलमा अटोरिक्सा चलाउनेमा विदेश नगएर नेपालमै केही गरौँ भनेर जुटेका युवा र विदेशबाट फर्किएका युवा नै बढी हुन्छन् । केही प्रतिशत महिलाले पनि सडकमा अटोरिक्सा गुडाइरहेका छन् ।

यता पाल्पाका भीमबहादुर गहतराजले अटोरिक्सा चलाएर परिवार पाल्न सजिलै भए पनि पैसा नहुने बताउँछन् । ‘अहिले पहिलेजस्तो कमाइ छैन, हामीबीच पनि धेरै प्रतियोगिता भयो’, चालक गहतराज सुनाउँछन्, ‘अहिले त कमायो, खायो ठिक्क छ ।’

बुटवलमा सर्वसाधारणका लागि अटोरिक्सा ट्याक्सीको विकल्प बनेको छ । भित्री बाटोहरुमा प्रसस्तै गुड्ने र भनेको ठाउँमा रोक्ने भएकाले सर्वसाधारणले अटो रिक्सा रोज्ने गर्छन् । बुटवलमा अटोरिक्सा चाहिनेभन्दा बढी हुँदा रिक्साले जाम गराएको गुनासो पनि बेलाबेलामा नआउने भने होइन ।

पहिलेको तुलनामा बढी जाम हुन थालेपछि ट्राफिक प्रहरीले अटोरिक्सामाथि कडाइ गर्न थालेको छ ।

लामो समयदेखि बुटवलमा अटो चलाउँदै आएका केशव घिमिरे भन्छन्, ‘ट्राफिकको व्यवहार ठीक छैन, अटो चलाउने भनेर हेप्छन्, काम गरेर खाँदा पनि हेपाइ खानुपर्ने?’

रिक्साको सङ्ख्या बढेसँगै अटोरिक्साबीच पनि सस्तो प्रतिस्पर्धा चल्न थालेको छ । अटोरिक्साका लागि बनेका समितिले केही नगर्ने र ट्राफिकले पन मनपरी फाइन तिराउने गरेको उनीहरु बताउँछन् ।  चन्द्रकान्त घिमिरेको गुनासो पनि उस्तै छ, ‘ट्राफिकले अटो चलाउने भनेर हेप्छm यात्रु ओराल्दा पनि आएर चाँबी खोसिदिन्छ ।’

हाइवे र मुख्य स्थानमा अटोरिक्सा रोक्न पाइँदैन । कहिलेकाहीँ यात्रु ओराल्ने भने गरेका छन् उनीहरुले । यसरी यात्रु ओराल्दा कहिलेकाहीँ ट्राफिकले केही नगर्ने तर कहिलेकाहीँ चिट काटिदिने गरेको अटोचालकको गुनासो छ ।

चालक खेमराज भट्टराई गुनासो पोख्छन्, ‘एकदिन बूढीआमाले भुड्कीचोकमा रोकिदिन भन्नुभयो, मैले साइड लगाएर रोकिदिएँ, ट्राफिक आएर चाँबी खोसिदियो, बोल्न खोज्दा तँलाई पनि जाक्दिम् भन्दै थर्कायो, अर्को दिन मैले एक हजार तिरेर आएँ ।’

अटोचालकलाई एक हजार कमाउन झण्डै एक दिन लाग्छ । कहिलेकाहीँ त त्यही पनि बच्दैन । तर बुटवलमा ट्राफिकले मनपरी जरिवाना तिराउने गरेको भट्टराईको गुनासो छ । जरिवाना मात्र नभएर ट्राफिकले अटोरिक्सा चालकलाई मान्छे मारेर आएको अपराधीलाई झैँ व्यवहार गरेको दुखेसो गर्छन् उनी ।

बुटवल तथा आसपास चल्ने रिक्सा भनेपछि ट्राफिकले पनि निकै सताउने गरेको छ । अहिलेसम्म ट्राफिकले अटो रिक्साले नियम मिचे कति जरिवाना लगाउने भन्ने नियमसमेत छैन  ट्राफिकले मनपरी जरिवाना उठाइरहेका छन् ।

‘ट्राफिकले हामीलाई किन यस्तो हेपेर व्यवहार गर्छ, त्यो थाहा भएन, हामी पनि गरी खाने मान्छे हो, बुझिदिनुपर्ने हो ।’, एक चालक पोखिन्छन् ।

विदेशको विकल्पमा अटोरिक्सा

गुल्मीकै गौतम कुँवरले रिक्सा चलाउन थालेको तीन वर्ष भयो । उनी विदेश जाने योजना लत्याएर अटोरिक्सा चलाउन थालेका थिए । अहिले पनि रिक्सा चलाउनु उनका लागि ‘विदेशको विकल्प’ नै हो । तर, अहिले भने उनलाई फेरि विदेश नै भासिनुपर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।

अर्का चालक केशव घिमिरे भन्छन्, ‘राज्यले युवालाई विदेश नगएर आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर आह्वान गर्छ, तर सरकारले नै यहाँ काम गरेर खाने वातावरण बनाउन सक्दैन ।’

रिक्सावालाहरुको गुनासो के छ भने, यहाँका रिक्साहरु अव्यवस्थित भए । ट्राफिकले मनपरी ग–यो । समितिले रिक्सा व्यवस्थित गर्न सकेनन् । उनीहरुले समितिलाई मासिक रुपैयाँ पाँचसय र शुरुमा दर्ता गर्दा १८ सय बुझाउने गरेका छन् ।

गौतम सुनाउँछन्, ‘ट्राफिकले कहिलेकाहीँ कुनै ठाउँमा चलाउन दिन्छ, कहिले त्यही ठाउँमा गएको भन्दै बिल काट्छ, ट्राफिकले त हामीलाई ‘अटोवाला’ भन्दै निकै हेप्छ ।’

अर्का चालक भन्छन्, ‘गल्ती अन्जानमै हुने हो, हामीले जरिवाना तिर्दैनौँ भनेका छैनौँ, तर नियम बन्नुप–यो, हामीलाई थाहा हुनुप–यो, ट्राफिक प्रहरीले मनोमानी ढंगले जरिवाना असुल्न भएन ।’

बुटवल आसपासका जिल्लाबाट बुटवलमा आई अटोरिक्सा चलाएर परिवार पाल्नेको सङ्ख्या कम छैन । अटोरिक्साले बुटवलमा केही हदसम्म जाम गराएपनि सर्वसाधारणका लागि भने सहज बनाइदिएको छ । तर, अटोरिक्साहरु अव्यवस्थित हुँदा रिक्सा चालकहरुलाई नै असर परिरहेको छ ।

चालक रविन्द्र खनाल भन्छन्, ‘समितिले पनि केही गर्न सकेको छैन, अटोरिक्सालाई व्यवस्थित गर्नु चाहिँ पर्छ, अव्यवस्थित हुँदा हामीलाई पनि गाह्रो भइरहेको छ ।’ 

तस्वीरः अनिल थापा (अर्घेलो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?