काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमवार भएको खेलमा मछिन्द्र युथ क्लबलाई १-० गोलले पराजित गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । मनाङका लागि खेलको ८४ औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कायम ग-यो ।
भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ६१ औँ मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेको शीर्ष स्थानमा यथावत छ ।
मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।
यसैबीच आजको खेलसँगै सातौँ चरणका खेलहरु सकिएका छन् । आठौँ चरणका खेलहरु यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया