‘इपिएल’ क्रिकेटमा विराटनगर वारियर्सको लगातार दोस्रो जीत

काठमाडौं । डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा मंगलवार भएको पहिलो खेलमा कप्तान पारस खड्काको टिम विराटनगरले केली कोएट्जरको कप्तानीमा रहेको पोखरालाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

पोखराले दिएको ८५ रनको झिनो लक्ष्यसहित मैदानमा ब्याटिङ गरेको विराटनगरले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा विराटनगरले २० रन जोड्दै २१ रनको लक्ष्य दिएको थियो । विराटनगरको लागि करण केसीले २० रनको योगदान दिए । जवाफमा पोखराले १३ रनमा समेटिएको थियो । 
सुपर ओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले १९ रन, करण केसीले १५ रन तथा रोविन क्षेत्री र हरि चौहानले समान १२-१२ जोड्दा रन जोडेका थिए ।  

भान डेर मेर्वीले ११ रन तथा कप्तान पारस मात्र १ रनमा पेभेलियनमा फर्किए । 

पोखराका विपिन खत्रीले ३ तथा सुसन भारी, बिक्रम सोब र पाउल कलीनले समान २-२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  ८४ रनको सामान्य योगफल तयार पारेको थियो । पोखराका लागि पाउल कलीनले सबैभन्दा बढी २० रन जोडे  ।

त्यस्तै राजेश पुलामी मगरले १७ रन, रिचर्ड लेभीले ३ तथा कप्तान कोएट्जर ४ रनमा आउट भए । जीतपछि विराटनगरले २ खेलबाट ४ अंक बनाएको छ । यअसघि भएको पहिलो खेलमा विराटनगरले ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?