काठमाडौं । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले मंगलवार पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।
धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए ।
उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए ।
लगानीकर्ताले मंगलवार तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गरेका थिए ।
कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो । बैठक पुनः मंगलवार बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया