पोखरा । पोखरा रंगशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुआत गरेको छ । गण्डकीले २५–२३, २५–२० र २५–१६ ले पुलिसलाई पराजित गरेको हो ।
उद्घाटनपछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एपीएफ २०–२५, २५–२२, २६–२४ र २५–१९ ले विजयी भएको हो । महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी बनेको छ ।
न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले विजयी शुरुआत गरेको हो । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ ।
महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहेको छ । पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच/पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । गतवर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया