सुर्खेतमा बन्ने भयो १२ करोड लगानीमा प्रादेशिक दुग्ध उद्योग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोड रुपैयाँको लगानीमा प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।

काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोड रुपैयाँको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिए ।

'गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण सुरु गरिएकामा अब ३ महिनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौं', उनले थपे, 'हाल बजारको माग झन्डै ७ हजार लिटर छ तर २ हजार लिटर अझै अपुग छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल काठमाडाैंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्दै अाएका छन् ।

हाल यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन २ हजार लिटर बजारमा पुर्‍याइएकाे धितालले जानकारी दिए । उनले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पुर्‍याउने लक्ष्य राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?