ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायत । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन् । 

युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन । 

युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ । बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ । गत नोभेम्बर २५ मा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमन सम्बन्धी सम्झौता ‘ब्रेक्जिट’लाई अनुमोदन गरेको थियो । 

तर निकै लामो बहस र मध्यस्थता पश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ । सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ ।

साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ । 

पार्टीभित्र नेतृत्व बिबाद एक वर्षका लागि टुङ्गिए पनि ब्रेक्जिटलाई बेलायतको संसदले औपचारिक अनुमोदन गर्नुपर्ने चुनौती अद्यापी छ । 

“बेलायतमा भएको छलफल हेर्दा परिस्थिति त्यति सहज देखिन्न, तर ब्रेक्जिटमा जटिलता नआओस् भन्ने हाम्रो चाहना हो । यसका निम्ति हाम्रो समर्थन रहन्छ,” अस्ट्रियाका चान्सलर सेबास्टियन कर्जले बताए । अस्ट्रियाले अहिले युरोपेली युनियनको अध्यक्षता गरिरहेको छ ।

युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कसँग यसै साता बस्ने युनियनको शिखर बैठकका कार्यसूची तय गर्न उहाँ ब्रसेल्स आइपुग्नु भएको छ । 

“स्पष्टै छ, बहिर्गमन सम्झौतालाई छलफलमा ल्याइने छैन र त्यसमा संशोधन पनि हुने छैन तर दुबै पक्षका सरोकारका विषयमा भने छलफल हुन सक्नेछ,” कर्जले भने । 

प्रधानमन्त्री मेले युरोपका तीन देशको भ्रमण गरी त्यहाँका नेताहरुबाट ब्रेक्जिटका बारेमा समर्थन जुटाउने प्रयत्न गर्नुभएको छ । युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले पनि बेलायती प्रधानमन्त्रीलाई सहयोग गर्ने तत्परता देखाउनुभएको छ, तर उनको एउटा प्रश्न छ, “त्यो कसरी ? ” 

बेलायतको “आपतकालीन सावधानी”का लागि गरेको आग्रह के हो भनी सोधिएको प्रश्नमा चान्सलर कर्जले भन्नुभयो, “उदाहरणका लागि, बेलायतले चाहेको त्यो आपतकालीन व्यवस्था कहिलेसम्मका लागि हो ? त्यो कहिले समाप्त हुन्छ ” 

आयरल्यान्ड युरोपेली युनियनको सदस्य कायमै रहेको अवस्थामा आपतकालीन व्यवस्था हुनैपर्ने धारणा युरोपेली अधिकारीहरुको छ । “ब्रेक्जिटको अन्तिम मिति राख्न अब जरुरी देखिन्न,” एकजना अधिकारीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?