नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस् मरिच आफ्नै रागले ।’ हो, त्यही हबिगतमा छ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले । मरिच आफ्नै रागले चाउरिएझै नेपाली राजनीतिमा कांग्रेस पनि आफ्नै कारणले चाउरिन परेको हो । संवैधानिक बाटोबाट आफ्नै नेतृत्वमा सरकारसहित महत्वपूर्ण राजकीय पद समेत कांग्रेसको भागमा थियो ।
गत निर्वाचनमा जनताले सरकारको नेतृत्व गर्ने हैसियतसहित ठूलो दल बनाएर जिताएर पठाए । तर, प्रधानमन्त्री, राष्ट्रपतिसहितका राजकीय पदहरु आफैले राख्ने अति महत्वाकांक्षा नेतृत्वले पाल्दा राजमार्गमा हिँड्नुपर्ने कांग्रेस अहिले सबैतिरबाट प्रतिपक्षको कच्ची सडकमा थचारिन पुगेको छ ।
अझ बिडम्बना त, जसले आफ्नो भागबाट सत्ताको चाबी खोस्यो उसैको सरकारलाई विश्वासको मत दिएर कांग्रेसले थप लाचारीपन देखायो । सरकारलाई विश्वासको मत दिएको दलले प्रमुख प्रतिपक्षीको दाबी गर्न नहुने आवाज बाहिरिन थालेपछि संसद सचिवालयलाई पत्रै लेखेर आफूहरुलाई प्रमुख विपक्षी दलको मान्यता पाउँ भन्ने याचना गर्न पुग्यो ।
अहिले सबै विकल्प टुंगिएपछि राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति पाउने सपना साँचेर बसेको छ कांग्रेस । तल्कालिन गठबन्धन तोडेर एमालेसँग लगनगाँठो कस्न पुगेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यही सहमतिको सूत्रबाट आफूतिर तान्न खोज्दैछ कांग्रेस । हिजो ओलीले गरेको संसद विघटनबाट सडकमा पुगेको माओवादीलाई जोगाइदिएको गुन तिर्छकी भन्ने झिनो आशा कांग्रेसमा छ । स्वयं प्रधानमन्त्रीले पनि राष्ट्रपतिमा कांग्रेसलाई सामेल गराउने संकेत देखाएपछि त कांग्रेसी नेताहरु फरुकफुरुक झै देखिएका छन् ।
ठूलो आलोचनाको बीच राष्ट्रपतिको ढोक्सा थापेर कांग्रेसले सरकारलाई विश्वासको मत दियो । यता कांग्रेसको च्याँखे दाउ सफल हुन नदिने रणनीतिमा छ, नेकपा एमाले । एकाएक कांग्रेससहित गठबन्धनबाट माओवादी एमालेको शरणमा पुगेपछि सभामुख एमालेले पाइसकेको छ । भने अब राष्ट्रपति पनि आफ्नै दलबाट बनाउने खेलमा एमाले लागेको छ ।
सरकारलाई विश्वासको मत दिएर राष्ट्रपतिको च्याँखे दाउ थापिरहेको कांग्रेसको चाल बुझेका एमाले अध्यक्ष केपी ओलीले त्यो दाउ सफल हुन नदिने उद्घोषै गरिसकेका छन् । संसदको पहिलो बैठकमा नै उनले सरकारलाई विश्वासको मत दिने निर्णय राम्रो भए पनि त्यसभित्रका राजनीतिक ढोक्सा थापेको भए त्यो जालमा माछा नपर्ने चेतावनी दिइसकेका छन् ।
सरकारको नेतृत्व दिएर माओवादीलाई कहिले फकाउँदै कहिले तर्साउँदै राष्ट्रपति आफ्नै खल्तीको मान्छे बनाउने दाउमा छन् ओली । यसअघि राष्ट्रपति पदको चरम दुरुपयोग गरी राजनीतिमा नाङ्गो नाच देखाएको आरोप लागेका ओली भने वर्तमान गठबन्धनलाई भत्कन नदिई साढे २ वर्षपछि प्रधानमन्त्री बन्दा सम्पूर्ण सहजताको बाटो कोर्दै छन् ।
यता दलहरु राष्ट्रपतिको निर्वाचनको चर्चामा लागे पनि निर्वाचन आयोग भने त्यसबारे मौन झै बसेको छ । बरु उ सरकारले त्यसबारे के निर्णय गर्छ भनेर मुख ताकेर बसिरहेको देखिन्छ । आफ्नो संवैधानिक दायित्व निर्वाहका लागि पनि सरकारको मुख ताक्दा आयोगलाई सुहाएको छैन ।
यता वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । त्यसअघि संसदले नयाँ राष्ट्रपति चुन्नुपर्ने भए पनि आयोग आफूले अग्रसरता लिनेभन्दा पनि सरकारको इशारा पर्खिबसेको छ ।
यता, राजनीतिक दलहरु भने कसलाई राष्ट्रपति बनाउने भन्ने भित्री खेलमा लागिसकेका छन् । सरकारको मुख्य हर्ताकर्ता नेकपा एमालेले मुख्य दाबेदारी लिँदै राष्ट्रपति बनाउने व्यक्तिका बारेमा भित्री रुपमा तयारी गरिरहेको छ । यद्यपि, माओवादीले धोका पो दिन्छ कि भनेर सशंकित उसले पात्रको कार्ड खोलिसकेको छैन । आलोपालोमा साढे २ वर्षपछि आफ्नो भागमा सत्ताको नेतृत्व आउँदा कसलाई अघि बढाउँदा वर्तमान राष्ट्रपतिबाट झै सहयोग मिल्छ भनेर परीक्षणमा छ एमाले ।
यता नेपाली कांग्रेस पनि सरकारको नेतृत्व गरिरहेको माओवादीलाई मिलाएर राष्ट्रिय सहमतिको मन्त्र जप्दै राष्ट्रपति आफ्नो ‘ढोक्सा’ मा पार्ने दाउमा छ । कांग्रेसबाट राष्ट्रपतिका लागि सबैभन्दा बढी लालायित देखिन्छन्, वरिष्ठ नेता रामचन्द्र पौडेल ।
चिया चौतारीदेखि संसदसम्म मुलुकमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने अन्यथा मुलुकका समस्याहरु एकै दल वा पक्षले पार लगाउन नसक्ने उनको रटान छ । १७ पटक प्रधानमन्त्रीमा प्रतिष्पर्धा गरेर पनि सफल हुन नसकेका पौडेलले राजनीतिक जीवनको उत्तरार्धमा शानको पदमा आसिन हुने मिहिन सपना देखिरहेका छन् । उनले राष्ट्रपतिका लागि के सम्म गरेनन् भन्ने चर्चा योग्य होला ।
पार्टीको १३आँै महाधिवेशनमा शेरबहादुर देउवासँग प्रतिष्पर्धामा पराजित भइ संस्थापन इतरको प्रमुख बनेका उनी १४औँ महाधिवेशसम्म आइपुग्दा न संस्थापन न इतरको नेता बन्नसके न त आफ्नै गुटप्रति इमान्दार नै रहन सके । तत्कालिन गठबन्धनमा माओवादीलाई प्रधानमन्त्री दिएर कांग्रेसलाई राष्ट्रपतिको भाग पार्ने र त्यसमा आफू अघि बढ्ने उनको सपना थियो । तर, सभापति देउवाले प्रधानमन्त्री कसैगरी पनि प्रचण्डलाई नदिने जिद्दी नछाड्दा त्यो सपना चकनाचुर बन्यो ।
माओवादीलाई मिलाएर राष्ट्रपति बन्ने चाहना अझै मुर्झाएको छैन रामचन्द्र पौडेलको । पार्टीमा एकलौटी गरेको भन्दै सार्वजनिक मञ्चमै देउवालाई लोप्पा खुवाएर बेइज्जतीसम्म गरेका उनले पदकै लागि १४औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन भूमिकै खेले । देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक नै बसे ।
यता प्रधानमन्त्री नपाएको देउवाभन्दा माओवादीलाई प्रधानमन्त्री दिएर भएपनि कांग्रेसबाटै राष्ट्रपति बनाउन नपाएकोमा रामचन्द्र बढी चिन्तित देखिए । लगत्तै एक टेलिभिजन अन्तर्वार्तामा उनले महत्वकांक्षाको कारण सपना सबै उडायो हुरीले भन्दै आत्मालाप गरे ।
सम्भावनाको खेल मानिने राजनीतिमा कसैगरी राष्ट्रपतिको भाग कांग्रेसमै परे पनि रामचन्द्र नै उम्मेवार बन्छन् भन्ने पनि यकिन देखिन्न । पौडेलको राष्ट्रपतिको बाटो छेक्न पार्टीभित्रबाटै पूर्व महामन्त्री कृष्ण सिटौला अघि सारिँदैछन् ।
पार्टीको १३औँ महाधिवेशनमा तत्कालिन संस्थापन इतरमा कुरा नमिलेपछि रामचन्द्रलाई स्वीकार्न नसक्ने भन्दै तेस्रो धार जन्माएका सिटौला अहिले पनि पौडेलको बाटोको काँडा बन्ने देखिँदै छन् । त्यसैको फाइदा उठाउँदै देउवा सभापति बनेका थिए भने तेस्रो धारका नाममा सिटौलाले भागबण्डामा केही पद पाइ नै रहे ।
१४औँ महाधिवेशनमा त उनी केही नेतालाई व्यवस्थापन गराउँदै देउवालाई नै सभापति बनाउने बाटोमा थिए । यी समीकरणहरुले पनि देउवाले पौडेलभन्दा सिटौलालाई नै पार्टीको उममेदवार बनाउने सम्भावना निकट देखिन्छ । सिटौलानिकट स्रोत भन्छ, ‘राष्ट्रपति उम्मेदवारीका लागि देउवाबाट नै ग्रिन सिंग्नल मिलेको हो ।’
राष्ट्रपति आफ्नो पोल्टामा पार्न कांग्रेसले कम्तिमा माओवादीलाई मिलाउनै पर्छ ।
जसको लागि माओवादीसँग सेतुको काम गर्ने क्षमता आफूबाहेक अरुसँग नभएको भन्दै सिटौलाले राष्ट्रपतिमा दाबा पेश गरेको एक कांग्रेस नेता बताउँछन् । तत्कालिन गृहमन्त्री रहेका सिटौलाले माओवादीलाई शान्ति वार्तामा ल्याउन मुख्य भूमिका खेलेका थिए । त्यसपछि सेलाएका उनी गेमर भन्दा पनि राजनीतिको ‘गेम चेन्जर’ का रुपमा परिचित छन् ।
धेरै विवाद र चर्चामा नरहने उनी भित्री रणनीति चाल्न माहिर मानिन्छन् । द्वन्द्वकालदेखि नै समन्वयकारी भूमिका खेल्न सक्ने खुबी रहेको भन्ने इनाम पाएका उनले अहिले राष्ट्रपतिका लागि माओवादीसँग समन्वय गर्न सक्ने भन्दै पार्टी नेतृत्वसँग बार्गेनिङ गरिरहेका हुन् । पौडेल र सिटौलाबाहेक कांग्रेसका दुई नेता गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माले पनि आफूलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै देउवालाई गनगन गरिरहेको देउवानिकट एक नेता भन्छन् ।
मंसिर ४ को निर्वाचनमा आदीबासी जनजातीतर्फबाट समानुपातिकमा पहिलो नम्बरमा परे पनि सांसद बन्न नपाएका श्रेष्ठले जीवनभर लगाएको गुनको बदला देउवाले तिर्नुपर्ने बताइरहेका छन् । सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा समेत पहिलो विकल्पमा पौडेल सिटौला तथा दोस्रो विकल्पमा श्रेष्ठ र विश्वकर्माको नाममा चर्चा चलेको थियो ।
तर कांग्रेस राजनीतिको अर्को पाटो पनि छ, चुनाव नजितिने भयो, माओवादीले नसघाउने भयो भने कर्मकाण्ड पुर्याउने राष्ट्रपतिको चुनावमा भने यी नाम एकाएक गायब भए अन्यथा नमाने हुन्छ । महिला, दलित वा आदिवासीको तर्क अघि सारेर कुनै अरु नै पात्र मैदानमा ल्याइने छ । जित्ने समीकरण बन्दा यिनै मध्ये वा अझै सभापति देउवा आफैं मैदानमा उत्रिए भने पनि आश्चर्य नमाने हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएको कांग्रेससँग पनि राष्ट्रपति निर्वाचनमा सहकार्य हुने अभिव्यक्ति दिएकाले कांग्रेसीहरु अलिक हौसिएका देखिन्छन् ।
उता, सत्ता गठबन्धनको नेतृत्वकर्ता एमालेमा भने आशंका बढेको छ । त्यसैले पनि एमाले अध्यक्ष ओली बारम्बार प्रचण्डसँग दोस्तियारी कस्दैछन्, कहिले बालुवाटार, सिंहदरवार धाएर त कहिले बालकोट बोलाएर ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी मिलेर बनेको नेकपा नेतृत्वको सरकार र एमाले निकट मानिने राष्ट्रपति बन्दा ओलीले गरेको मनलाग्दीले माओवादीमा अहिले पनि त्रास छ । अहिले पनि एमालेकै राष्ट्रपति हुने हो भने प्रचण्ड प्रधानमन्त्री रहेरै पनि ओलीको नियन्त्रणमा रहने र आफ्नो कार्यकालमा त अघिल्लो पल्टझै उधुम गर्ने माओवादीहरु नै बताउँछन् । त्यसैले माओवादीहरु पनि आफूले नपाउँदा कम्तिमा एमालेको व्यक्ति नहोस् भन्ने चाहन्छन् ।
राष्ट्रपतिमा माओवादीको साथ खोजिरहेका कांग्रेसीहरुले सके राष्ट्रिय सहमति नभए गोप्य मतदान कुरेका छन् । त्यस्तो हुँदा गोप्य मतदानमा संघ र प्रदेशका सांसदले फ्लोर क्रश गरेमा एक्लाएक्लै लड्दा पनि राष्ट्रपति फुत्काउन सकिन्छ कि भन्ने झिनो आशा पालेर बसेका देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया