पर्यटक आगमनमा नयाँ रेकर्ड : ११ महिनामै १० लाखले गरे भ्रमण

काठमाडौं ।  नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । 

यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् । ११ महिनामै १० लाख पर्यटक भित्रिनुले नेपाल भ्रमण वर्ष २०२०लाई बलियो आधार दिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । 

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतिपूर्ण छ । तर, भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पुर्‍याउने अपेक्षा सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?