कलाकारको व्यस्तता या अस्तव्यस्तता: हिराको त प्रचार गर्नुपर्छ भने फिल्मको पर्दैन?

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री दीपिका पादुकोणसँग तामझामका साथ बिहे गरेको धेरै भएको छैन । भारतीय सञ्चार माध्यममा ‘हनिमुन छाडेर फिल्म प्रचारमा’ भन्ने समाचार आइरहेका छन् ।

यस्ता समाचारले रणवीरका फ्यानको फिल्मप्रतिको मोह अझै बढेर गएको छ । ती समाचारको प्रभाव नेपाली दर्शकमाझ पनि नपर्ने कुरै भएन ।

रणवीरको यो शैलीले के पनि झल्काउँछ भने बलिउडका कलाकार आफ्नो करिअरलाई लिएर निकै सचेत छन् । रणवीर मात्र नभएर आमिर खान, शाहरूख खान, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार लगायत ‘नम्बर एक’ सेलिब्रेटीले फिल्मको प्रचारमा खुलेरै समय दिइरहेका हुन्छन् । आफ्नो फिल्मको प्रचारका लागि उनीहरू बचेको समयलाई समेत प्रचारमै लगाएका हुन्छन् ।

बलिउडमा मात्र नभएर संसारका ठूलादेखि साना सिनेमा उद्योगमा फिल्म प्रचारका लागि कलाकारले समय छुट्याउँछन् । हलिउडमा पनि यो ट्रेन्ड छ ।

नेपालका कलाकारमा भने यो ‘चेत’ पाइँदैन ।

त्यसो त फिल्म प्रचारमा खुलेरै लाग्नेहरू अहिले दर्शकमाझ लोकप्रिय छन् । जस्तो कि, रिलिजका बेला खुलेरै प्रचारमा होमिने दीपकराज गिरी, केदार घिमिरे, अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतका केही सीमित कलाकारले यो क्षेत्रमा राम्रो हाइप बनाएका छन् । मिडिया तथा दर्शकसँग खुलेर बोल्ने गरेका छन् । सक्दो प्रचारमा लाग्ने गरेका छन् ।

ठूलो स्टारडम बनाएका हलिउडका टम क्रुज, साउथ इन्डियन फिल्मका सुपरस्टार भनिने रजनीकान्त, बलिउडका आमिर खानहरू पनि खुलेरै प्रचारमा लागेका हुन्छन् ।

तर नेपालका कलाकार वर्षौं लगाएर आफूले अभिनय गरेको फिल्मको प्रचार गर्नुभन्दा म्युजिक भिडियोको शूटिङतिर लाग्छन् ।

यही उद्योगमा त्यस्ता कलाकार पनि छन्, जसले भ्याएसम्मका फिल्ममा अभिनय गर्छन् तर ती फिल्मको रिलिजका बेला नाकमुख देखाउँदैनन् । फिल्म हलमा चल्छन् पनि । दर्शकलाई ती कलाकारको रिलिज मितिसमेत थाहा हुँदैन ।

नायिका रेखा थापा मिडियासँग खुल्न चाहन्निन् । उनले पत्रकार तथा दर्शकलाई देखाउने एक खाले व्यवहारका कारण आफ्नो हाइप घटाउँदै लगेकी छिन् । अझ फिल्म ‘मालिका’ का रिलिजताका सिनेमाको प्रतिक्रिया बुझ्न हलसम्म जाने कलाकारलाई उनले ‘नौटंकी’ गरेको भनिदिइन् । यदि केही बुझ्न कुनै पत्रकार (आफू चिनेका बाहेक) ले फोन गरिहाल्यो भने उनले सिधै आफू व्यस्त भएको प्रतिक्रिया दिन्छिन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौला भने चलचित्रको खुलेरै प्रचार गर्नुपर्ने धारणा राख्छिन् । उनका अनुसार फिल्म राम्रो बनाएर मात्र हुँदैन, त्यसको विज्ञापन पनि गर्नुपर्छ ।

‘बजारमा हीरा र सुनचाँदीको त विज्ञापन गर्नुपर्छ भने फिल्मको नगर्ने भन्ने हुँदैन, हामी सबै ठाउँमा पुग्न नसकौँला तर फिल्मको प्रचार सकेसम्म गर्नुपर्छ, बल्ल त नेपाली फिल्म उद्योग फराकिलो बन्न खोज्दैछ,’ दीपाश्री निरौला अगाडि थप्छिन्, ‘आफ्नो सामान सबैलाई हीरा लाग्छ, तर घरभित्र राखेको हीराको भन्दा स्वरुममा राखिएको हीराको महत्त्व बढी हुन्छ ।’

उनी नेपाली फिल्म क्षेत्र भर्खरै तङ्ग्रिदै गरेकाले प्रचार पनि फिल्म उद्योगलाई सघाउने एउटा माध्यम बन्न सक्ने धारणा राख्छिन् ।

‘कलाकारले आफूले अभिनय गरेको फिल्मलाई आफ्नो फिल्म हो भन्ने सोच्नुपर्छ, निर्देशक÷निर्माताले पनि पहिले फिल्मको प्रचारमा पनि जानुपर्छ भनेर सम्झौता गर्नुपर्छ ।’, निर्देशक निरौलाको धारणा छ ।

प्रचारमा नआउने कलाकार, स्टारडम खोज्ने

केही वर्षअघि अर्की नायिका सञ्चिता लुइँटेलले आफूले फिल्म ‘गुनगुन’ मा अभिनय गर्न लागेको र फिल्मबाट आफू आशावादी भएको समेत बताएकी थिइन् । तर जब फिल्म बनेर निर्माण टिम प्रचारमा लाग्यो, त्यसपछि अनेक बहाना बनाएर नायिका प्रचारमा आइनन् । निर्माण टिमले सञ्चिताविना नै फिल्मको प्रचार ग–यो । यो फिल्म चल्नु र नचल्नुमा सञ्चितालाई खासै फरक परेन ।

फिल्म निर्माताले कलाकारले स्टारडम खोजेपनि कतिपय कलाकारको कामप्रतिको लगाव ‘शून्य’ भएको आरोप लगाउने गर्छन् । फिल्म गर्ने बेलामा कतिपय कलाकारले प्रचारसमेत गर्ने भनेर सम्झौता गर्ने गरेपनि अर्को फिल्मका कारण कतिपयले समय दिन नसक्ने, कतिले अनेक बहाना बनाउँदै प्रमोसनमै नआउने निर्माताहरूको आरोप छ ।

एक निर्माता भन्छन्, ‘नेपाली कलाकारमा स्टारडमको लोभ छ तर कामप्रति कुनै चासो छैन, आफूले अभिनय गरेको फिल्मको प्रमोसनमा पनि खासै चासो दिँदैनन्, यसले कलाकारलाई पनि घाटा पारेको छ ।’

फिल्मको प्रचार नगुर्नु कलाकारलाई पनि घाटा

निर्देशक दीपाश्री निरौलाले फिल्म आफ्ना लागि भन्दा पनि दर्शकका लागि बनाएको बताउँदै आएकी छिन् । फिल्म बनिसकेपछि त्यो दर्शकको पनि सम्पत्ति भएकाले पहिले दर्शकसम्म पु–याउन प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

तर, कलाकारले आफ्नो व्यस्तता देखाउँदै दर्शकसँग साक्षात्कार नगर्नुले ती फिल्म र निर्मातालाई मात्र होइन, स्वयम् कलाकारलाई पनि घाटा भएको निर्माताहरू बताउँछन् । फिल्म खेलेपछि कलाकारले फिल्मको प्रचारमा किन पनि समय दिनुपर्ने हो भने, त्यही कारण फिल्मले दर्शकमाझ एउटा हाइप तयार गर्छ । तर नेपालमा भने फिल्म बनाउने, त्यसको ट्रेलर तथा गीत रिलिज गर्ने तर कलाकार भने नदेखिने गरेको पाइन्छ ।

यसरी फिल्मको प्रचारको बेला कलाकार र निर्माण टिम लुकामारी खेल्दा फिल्मलाई मात्र नभएर कलाकारको करिअरमा पनि घाटा लाग्ने निर्माताहरू दावी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?