आधा अर्ब अमेरिकी डलरका सामग्री निर्यात

काठमाडौं । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । 

विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए । 

अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताए ।  “ पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ” , उनले बताए । 

अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा. खतिवडाले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एशियाको अर्थतन्त्रलाई नवीनतम उत्पादन र सेवाबाट सशक्त तुल्याउन सकिने बताए । 

तीनदशक अघिदेखि देशको आर्थिक उन्नयनलाई राज्यले प्राथमिकतामा राखेको चर्चा गर्दै उनले विकास र लगानीका अवरोधले लक्षीत उपलब्धि हासिल हुन नसकेको वास्तविकता सुनाए । “नीतिगत एवं संरचनागत सुधारबाटै गन्तव्यमा पुग्न सकिन्छ, हामी सुधारका पक्षमा छौँ”, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?