काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट चलाउन अनुमति लिएर विवादमा फसेको बतास समूहको एक कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
सम्झौता र मापदण्डविपरीत भौतिक संरचना बनाएको आरोपमा बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
नारायणटिही दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको सिफारिशमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
नारायणहिटीभित्र क्याफ्टेरियाको नाममा लाइभ म्युजिकसहित क्लब र बार चलाउन तोकिएभन्दा बढी भौतिक संरचना बनाएपछि सरकारले कार्वाही गरेको थियो । ती संरचना नक्शा पारित नै नगरी बनाइएको खुलेको थियो ।
सार्वजनिक विरोध भएपछि सरकारले बताससँगको सम्झौता र नारायणहिटीभित्र बनाइएका संरचनाबारे अध्ययन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति बनाएको थियो । मिलेमतोमा ठेक्का सम्झौता भएको हुनसक्ने भन्दै समितिले आवश्यक कारवाहीका लागि सिफारिश गरेको थियो ।
सरकारले एकपक्षीय रुपमा सम्झौता रद्द गरेकामा बी म्यानेजमेन्ट क्षतिपूर्ति माग गर्दै अदालतसमेत गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया