सागलाई लक्षित गरी विशेष प्रशिक्षण शुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औँ दक्षिण एशियाली खेलकुद  (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शुरु गरेको छ ।

हाललाई इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ । एशियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराँते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् ।

प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत पदक दिलाएको थियो । उक्त पदक नेपालले १८ औँ एशियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत पदक जितेका थिए ।

आगामी माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मंसिर २५ गतेदेखि शुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको थियो । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ ।

सदस्य–सचिव विष्टले पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औँ सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको बताए । 

‘राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौं, पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औँ सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौं’, उनले भने । 

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर/जुनियर, स्थायी/अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउदै बाँकी खेलाडीलाई आठौँ राष्ट्रिय खेलकुद पछि प्रशिक्षणमा राखिने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मिति भन्दा आठौँ राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८ औँ एशियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम शुरु गरिएको बताए ।

          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?