‘ए’ डिभिजन लिग : उपाधि होडमा मनाङसँगै थ्रीस्टार र संकटा क्लब

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल लिग अन्तर्गत आठौं चरणको खेलहरु सकिएको छ । 

आठौं चरणको खेल सकिँदासम्म मनाङ मस्याङदी क्लब शतप्रतिशत नतिजा निकाल्दै उपाधी होडमा छ । त्यस्तै मनाङलाई पच्छ्याउँदै थ्रीस्टार र संकटा क्लब पनि उपाधि होड दौडमा छ ।उपाधिको दाबेदार मानिएको विभागीय क्लब त्रिभुवन आर्मी क्लब भने उपाधि होडबाट बाहिरिसकेको छ ।

लिग लिडर मनाङसँग पराजित भएपछि आर्मी क्लबको उपाधि होड टाढिएको हो । त्यस्तै नेपाल पुलिस, च्यासल र हिमालयन शेर्पा पनि उपाधि होडबाट बाहिरिसकेका छन्।

आठौँ चरणमा आर्मीको अपराजित यात्रालाई पूर्णविराम  लगाएको मनाङले लगातार आठ खेल जित्दै शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । अव मनाङ मस्याङदी क्लबले च्यासल युथ क्लब, नेपाल पुलिस र संकटा क्लबविरुद्ध खेल खेल्न पाउनेछन् । मनाङ २४ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

समान २१-२१ अंक बनाएपनि गोल अन्तरको आधारमा अघि रहँदै थ्रीस्टार दोस्रो तथा संकटा तेस्रो स्थानमा छ । 

गत असोज १३ गतेदेखि शुरु भएको जारी लिगमा  कूल ९१ मध्ये ५६ खेल भइसकेको छन्। पहिलो पटक भइरहेको  ननरेलिगेशन लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरेहका छन्। प्रतियोगिता अन्तर्गत भोली ‘सोमवार’बाट नबौं चरणका खेलहरु शुरु हुनेछन् । 

नवौँ चरणको पहिलो खेलमा शीर्ष स्थानमा रहेको मनाङ मस्याङदीले च्यासल युथ क्लबसँग र दोस्रो स्थानमा रहेकोको थ्री स्टारले चौथो स्थानको आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सोमवार नै हुने तेस्रो खेलमा संकटाले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?