एचआइभीविरुद्ध औषधिको प्रयोग

कैलाली जिल्लामा एक हजार २६१ जना एचआइभी सङ्क्रमितले यो रोगविरुद्ध एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । 

आर्थिक वर्ष २०७२-७३ मा ९९८, वर्ष २०७३-७४ मा एक हजार १५४ र वर्ष २०७४-७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकामा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको जनाइएको छ । 

जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ । 

यसबाहेक गोदाबरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गत साउनदेखि एचआइभी सङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए। 

एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ रहेको छ । वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको १०९ रहेका छन् । यो रोगप्रति बढेको जनचेतनाले गर्दा सङ्क्रमितहरु खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिको कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआइभी एडस रोकथामको क्षेत्रमा कार्यरत एडस हेल्थ केयर सेन्टरका माधव पन्तले बताए । 

जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआइभी जाँच गरिएकामा ११५ जना सङ्क्रमित फेला परेका थिए । गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकामा २८ जना सङ्क्रमित फेला परेका छन् । एचआइभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले बताए । 

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्युदर र औषधि खान छोड्ने दर घट्दै गएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?