रुसमा छ बालबालिकाको मृत्यु

रुसका विभिन्न शहरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् । 

उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन जना साना बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै छाडिएका ती बालबच्चा दुई र चार वर्षका थिए ।इन्टरफ्याक्स समाचार संस्थाका अनुसार दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँमा आइतबार घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ । 

त्यस्तै, काजानमा पनि दुई वयस्क पुरुष र एक बच्चाको घरमा भएको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिया नोभोस्ती समाचार संस्थाले मस्कोको पेरेसभेटमा आइतबार भएको आगलागीमा दुई पुरुष र तीन बालबच्चा घाइते भएको जनाएको छ । 

भ्रष्टाचारका कारण रुसमा आगलागी सुरक्षा नियमहरु राम्रोसँग पालना नहुने समस्या रहेको बताइन्छ । 

गत मार्चमा केमेरोभोको एउटा सपिङ सेन्टरमा आगलागी हुँदा ६४ जनाको ज्यान गएको थियो, जसमा ४१ जना बालबालिका थिए । उक्त घटनापछि सरकारले रुसका सबै सपिङ सेन्टर र अरु सांस्कृतिक तथा मनोरञ्जन स्थलहरुमा आगलागी सुरक्षा नियमहरु पूरा गरे नगरेको जाँच गर्न आदेश दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?