खानी दुर्घटनामा सात जनाको मृत्यु

चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदूरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनिया सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । 

घाइतेहरुलाई उपचारका लागि चोङ्क्विङस्थित अस्पताल पु-याइएको छ । 

खानीमा कार्यरत मजदूरले प्रयोग गर्ने डोरी चुँडिएर उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । 

सरकारले कोइला उत्पादनको अवस्थामा सुधार ल्याउन तथा गैरकानुनी रुपमा सञ्चालनमा रहेका खानीहरु बन्द गराउन पहल गरेपनि चीनमा कोइला खानीमा अपनाइने कमजोर सुरक्षा व्यवस्थाका कारण बारम्बार मानवीय क्षति हुने गरेको छ । 

गत अक्टोबरमा पूर्वी शान्डोङमा रहेको खानीमा भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । 

चिनीया राष्ट्रिय कोइला खानी सुरक्षा निकायका अनुसार सन् २०१७ मा कोइला खानीसम्बद्ध मृत्यु संख्या ३७५ रहेकामा सरकारी प्रयासका कारण यस वर्ष करिब २९ प्रतिशतले कमी आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?