जसरी पनि फागुन १७ मै आउने भनेको ‘जात्रै जात्रा’ को रिलिज डेट सर्ला?

काठमाडौं । निर्देशक प्रदीप भट्टराईले चलचित्र ‘जात्रै जात्रा’ फागुन १७ गते जसरी पनि रिलिज हुने भनेर भनिरहेका थिए । उक्त मितिमा अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ पनि रिलिज हुने भएपछि ‘जात्रै जात्रा’ सोही मितिमा चल्दैन कि भन्ने धेरैलाई लागेको थियो ।

छायांकन नसकिँदै टिजर सार्वजनिक गरेको यो फिल्म निर्धारित मितिमा रिलिज नहुने सम्भावना बढेर गएको छ । स्रोतका अनुसार चलचित्रको बाँकी छायांकन अभिनेता विपिन कार्कीले समयमा गर्न नसक्ने भएपछि फिल्म निर्धारित मितिमा रिलिज नहुने सम्भावना देखिएको हो । फिल्मका मुख्य अभिनेतामध्येका एक विपिन केही हप्ताअघि स्कुटर दुर्घटनामा परेर घाइते भएका थिए ।

फिल्म ‘प्रसाद’ को छायांकनमा समेत समय दिइरहेका विपिन दुर्घटनामा परेपछि सो फिल्मको प्रचार पनि प्रभावित भएको थियो भने ‘जात्रै जात्रा’ को शूटिङ रोकिएको थियो ।

‘जात्रा’ पछि त्यसैको सिक्वेल ‘जात्रै जात्रा’ बन्न लागेको हो । यो फिल्म पनि डार्क कमेडी जानरामै निर्माण हुनेछ भने फिल्ममा कथा तथा निर्देशन प्रदीप भट्टराईको छ ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका केही कलाकार दोहोरिनेछन् भने दयाहाङ राईको पनि यो फिल्ममा अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?