‘ए’ डिभिजन लिग : नवौँ चरणको खेल आजबाट शुरु हुँदै

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज ‘सोमवार’देखि नवौँ चरणका खेल शुरु हुँदैछ ।

 अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का अनुसार नवौँ चरणका खेल सोमवार, मंगलवार र बुधवार हुनेछन् । आज तीन खेल सञ्चालन हुँदैछ । त्यस्तै मंगलवार र बुधवार भने दुई-दुई खेल हुनेछ ।

आज हुने पहिलो खेलमा न्युरोड टिम ‘एनआरटी’ले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।  जितविहीन रहँदै ‘एनआरटी’ १ अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । ११  अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबसँग भिड्नेछ । ९ अङ्कसहित सरस्वती नवौँ तथा ७ अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । यी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । आजै हुने तेस्रो खेलमा सङ्कटा क्लब र फ्रेन्ड्स क्लब आमने-सामने हुँदैछ । 

उपाधि होडमा रहेको सङ्कटा २१ अङ्कसहित लिगको तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब ५ अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । 

सात पटकको लिग विजेता मनाङ मस्याङ्दी क्लब तालिकाको शीर्ष स्थानमा छ । थ्रीस्टार र सङ्कटाले मनाङलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २४ अङ्क छ भने  थ्रीस्टार र सङ्कटा समान २१÷२१ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

त्यसैगरी त्रिभुवन आर्मी १८ अङ्कसहित चौथो तथा नेपाल पुलिस र च्यासल युथ क्लब क्रमशः १४ र १३ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?