काठमाडौं । शेयर बजारमा लगानी गरिरहेका दवाव समूहको अनशन मंगलवार पनि जारी छ ।
कारोबार बन्द गराउने निर्णयबाट पछि हट्दै शेयर बजारमा लगानी गरिरहेका दवाव समूहले मंगलवार पनि अनशनलाई निरन्तरता दिएका हुन् । शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालका अनुसार दवाव समूहले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताए ।
उक्त समूहले गत आइतवारदेखि १४ बुँदे माग राख्दै रिले अनशन शुरु गरेका थिए । सरकारले दवाव समूहको मागलाई सम्बोधन नगरेको भन्दै सोमवारदेखि आमरण अनशन शुरु गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलमा बसेर आफ्नो माग बुझाएर फर्किएपछि पनि उनीहरुले आन्दोलन जारी राखेका हुन्।
उनीहरुले अर्थमन्त्री, गभर्नरलगायतको राजिनामा माग गरिरहेका छन्।
साथै अध्यक्ष अर्यालले लगानीकर्ताले राखेको माग जति छिटो सरकारीस्तरबाट सम्बोधन भए चाँडै निष्कर्षमा पुग्न सकिने बताए । सरकारी कार्यदलले भने लगानीकर्ताको मागसमेत सम्बोधन हुने गरी प्रतिवेदन तयारी पारेको जनाएको छ।
कार्यदलका संयोजक शिवराज श्रेष्ठले दवाव समूहको माग संवोधन हुने गरी प्रतिवेदन तयार पारेको पनि बताए । ‘सबैको चासो र चिन्ताहरु सम्बोधन हुन्छ, त्यसैले आन्दोलको बाटो त्याग्नु उपयुक्त हुन्छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया