युट्युबमा अनमोल र प्रदीको प्रतिस्पर्धा, अगाडि अशोक दर्जी

काठमाडौं । नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवास्टारको सूचीमा अगाडि देखिएका अनमोल शायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’ बनेका छन् । भन्दा त यी दुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच चर्को प्रतियोगिता छ भन्ने देखाउँछ ।

पछिल्लो उदाहरण नै लिऔँ – जुन दिन अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को गीत रिलिज हुने कार्यक्रम थियो, त्यही दिन नै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि हलमा रिलिज गरिएको केही महिनामै युट्युबमा अपलोड गरियो ।

एउटा त फिल्मको गीत, अर्को पूरै फिल्म । यसरी हेर्दा फिल्मप्रति दर्शकको रुचि हुनु नौलो होइन । यता अनमोल अभिनित ‘रहर छ सँगै’ बोलको गीत एकाएक ट्रेन्डिङमा आयो । प्रदीप पनि युट्युबको नेपाल ट्रेन्डिङमा पछिपछि आइरहेका थिए ।

धेरैलाई याद नै छ, प्रदीपकै अभिनय रहेको अर्को फिल्म ‘प्रेम गीत २’ पनि केही हप्ताअघि मात्र युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्म भने झण्डै एक हप्ता नै ट्रेन्डिङमा बसेको थियो ।

अहिले युट्युबमा अनमोल र प्रदीप जुधिरहँदा अर्को रमाइलो के भएको छ भने ती दुवै स्टारलाई सामाजिक सञ्जालबाट भाइरल भएका बालगायक अशोक दर्जीले उछिनेका छन् ।

टंक बुढाथोकीले बजारमा ल्याएको ‘चौरीको चाम्रो छुर्पी’ ले क्याप्टेनको गीत र प्रदीपको फिल्मलाई उछिनेको हो । अशोक दर्जीकै कारणले गीत एकाएक युट्युबको नम्बर एक ट्रेन्डिङमा देखिएको हो ।

भ्युजको कुरा गर्ने हो भने यी तीनमा सबैभन्दा अगाडि प्रदीप खड्काको फिल्म नै देखिएको छ । उक्त फिल्म पाँच दिनमा ३३ लाखभन्दा बढीले हेरेका छन् । तर, यो फिल्म अहिले (यो समाचार तयार पार्दासम्म) मात्र ट्रेन्डिङ नम्बर दुईमा उक्लेको छ । अशोक दर्जीको भिडियो ‘चौरीको चाम्रो छुर्पी’ लाई दर्शकले २९ लाख भन्दा बढीपटक हेरेका छन् ।

लामो समय नम्बर एक ट्रेन्डिङमा बसेको र अहिले तीन नम्बरमा झरेको ‘क्याप्टेन’ को गीतलाई भने १६ लाख जतिले मात्र हेरेका छन् ।

यो समाचार तयार पार्दासम्म अशोक दर्जीको गीत युट्युबको नम्बर एक ट्रेन्डिङमा छ । युट्युबमा अनमोल र प्रदीपको प्रतिस्पर्धा भइरहेको छ । तर अगाडि भने अशोक दर्जी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?