काँग्रेसमा अर्जुननरसिंह केसीको विजय : अब यस्तो बन्ने भयो पदाधिकारी

काठमाडौं– लामो समयदेखि निर्वाचित पदाधिकारीमा जोड दिँदै आएका काँग्रेस प्रभावशाली नेता अर्जुननरसिंह केसीको पहलले अन्नतः सार्थकता पाएको छ ।

उनकै पहल र निरन्तरको लबिङपछि मंगलबार काँग्रेसमा ७ पदाधिकारी निर्वाचित प्रक्रियाबाट र प्रवक्ता र कोषाध्यक्ष मनोनितबाट आउने समझदारी बनेको छ ।

काँग्रेस शीर्ष तहमा मंगलबार दिनभर भएको छलफलबाट प्रवक्तासहित ९ पदाधिकारी बनाउने सहमति भएको हो । केसीसहित रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका अरु केही नेताहरुले पनि यस्तै मोडलमा जोड दिँदै आएका थिए ।

सहमतिअनुसार  उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना हुनेछन् । ती सबै निर्वाचित हुने व्यवस्था गर्ने सहमति भएको छ । यस्तै कोषाध्यक्ष र प्रवक्ता भने मनोनित गरिने काँग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।

शीर्ष तहमा सहमति भएसँगै विधान मस्यौदा महासमिति बैठकमा पेश गर्ने बाटो खुलेको छ । आजको महासमिति बैठकमा विधानको माग गर्दै नेतृत्व र केही प्रतिनिधिबीच भनाभनको अवस्था समेत सिर्जना भएको थियो । विधानलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमिति बैठकमा छलफलका लागि लगिनेछ ।

हाल काँग्रेसमा पदाधिकारीमा आधा निर्वाचित र आधा मनोनितबाट पूर्ण बनाउने अभ्यास रहेको छ । तर त्यसो नगरी पदाधिकारी सिधै निर्वाचित हुने व्यवस्था रहँदा पार्टीमा स्वस्थ्य प्रतिस्पर्धा हुने विस्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?