काठमाडौं। सिमेन्ट उद्योगमा स्वदेशीले साढे १२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
सिराहामा स्थापना गर्न लागेको शाखा उद्योग सञ्चालनको लागि मारुती सिमेन्टले दुई अर्ब ५७ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिवद्धता गर्दै उद्योग दर्ता गरेका छन्। त्यस्तै कपिलवस्तुमा स्थापना हुन लागेको सिनर्जी सिमेन्ट उद्योगले पनि ९ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
मारुती सिमेन्टको शाखा उद्योगले ६ लाख ६० हजार मेट्रिक टन ‘ओपिसी’ सिमेन्ट तथा १३ हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको छ।
त्यसैगरि सिनर्जी सिमेन्टले ८ लाख ३८ हजार २ सय मेट्रिक टन क्लिंकर, ३ लाख ३० हजार मेट्रिक टन ‘ओपिसी’ सिमेन्ट, ३ लाख ३० हजार मेट्रिक टन ‘पिपिसी’ सिमेन्ट र ३ लाख ३० हजार मेट्रिक टन ‘पिएससी’ सिमेन्ट गरी १८ लाख २८ हजार २ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ ।
मारुती र सिनर्जी सिमेन्ट उद्योगबाट १२ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ स्वदेशी लगानी गर्ने प्रतिवद्धतामा २५ लाख एक हजार ४ सय मेट्रिक टन सिमेन्ट तथा क्लिंकर उत्पादन गर्ने लक्ष्य लिइएको छ। जसमध्ये क्लिंकर ८ लाख ५१ हजार ४ सय मेट्रिक टन र सिमेन्ट १६ लाख ५० हजार मेट्रिक टन उत्पादन हुनेछ।
३९ उद्योग मध्ये १० वटा ठूला उद्योग, ६ वटा मझौला उद्योग र २६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको हो। मंसिर महिनामा ११ वटा उत्पादनमुलक उद्योग, १० वटा पर्यटन उद्योग, १३ वटा सेवा उद्योग र ५ वटा अन्य उद्योग दर्ता भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया