जुडो विद्यालयमा शिक्षक अभाव

भद्रपुर । खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण संकट झेलिरहेको छ। 

पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना भएको उक्त विद्यालयमा बालकक्षादेखि कक्षा ४ सम्म पढाइ हुँदै आएको छ । 

आदिवासी जनजाति समुदायका १ सय ९ विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमा हाल एउटा शिक्षकको मात्र दरबन्दी छ । विद्यार्थी धेरै भएपछि निजी स्रोतबाट एउटा शिक्षक थपिएको विद्यालयका संस्थापक खड्काले जानकारी दिए ।

आदिवासी समुदायको बाहुल्य रहेको क्षेत्रमा रहेको सो विद्यालयमा सन्थाल समुदायका ५६, जनजातिका ४० र अन्य १३ गरी १ सय ९ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसित आठ कठ्ठा ऐलानी जग्गा छ । कर्कटपाताको छाप्रोमा पठनपाठन गरिँदै आएको छ ।

स्थानीयवासीको श्रमदान र तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण गरिएको छ । 

निर्माण गर्दै गरेको अर्को भवन आर्थिक अभावमा अलपत्र छ । शिक्षक अभावले धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको प्रधानाध्यापक गोपालप्रसाद गणेशले बताए । कक्षा १ र २ का विद्यार्थीलाई एउटै ठाउँमा तथा कक्षा ३ र ४ कालाई अर्को कोठामा राखेर एउटै शिक्षकले पढाउनु परेको गणेशले जानकारी दिए । “विद्यार्थीको पढाइमा असर परेको छ,” उनले भने । 

जिल्लामा जुडो खेलको विस्तार त्यही गाउँबाट भएको जिल्ला जुडो सङ्घका अध्यक्ष डा पृथ्वीविक्रम राईले बताए । विद्यालयमा जुडोसम्बन्धी कक्षा सञ्चालन गर्न उनले माग गरे । विद्यालयका संस्थापक गङ्गा खड्काले जिल्लाबाट पहिलोपल्ट जुडो खेल खेलका थिए ।

हाल खड्का परिवारमा तीन जुडोका राष्ट्रिय खेलाडी एवं प्रशिक्षक छन् । उनले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापासँग थप शिक्षक दरबन्दीको लागि माग गरिए पनि सुनुवाइ नभएको गुनासो गरे । 

जुडो खेलको नामबाट स्कूलको नामाकरण गर्नुका पछाडि त्यहाँ जुडो खेललाई विषय बनाएर विद्यार्थीलाई पढाउने र सिकाउने उद्देश्य भएको संस्थापकसमेत रहेका नेपाल राष्ट्रिय जुडो सङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षक खड्काले बताए ।

आर्थिक स्रोतको अभावमा विद्यालयमा जुडो विषयमा पठनपाठन गर्न सकिएको छैन । वडा नं २ को सहयोगमा विद्यालयको मैदानमा स्थानीयसँगै विद्यार्थीलाई नियमित रूपमा जुडो सिकाउने गरिएको छ । झापा गाउँपालिका–२ का वडाध्यक्ष नेत्र खड्काले जुडो खेलको पढाइलाई अघि बढाउनका लागि पहल गर्ने बताए ।

गाउँपालिकाले यस वर्ष वडामा जुडो प्रशिक्षणका लागि एक लाख बजेट विनियोजन गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?