झापामा दुई हजार सिट क्षमताको प्याराफिट निर्माण गरिँदै

झापा । झापाको एक मात्र मेची रङ्गशालामा दर्शक क्षमता बढाउनका लागि प्याराफिट निर्माण शुरु गरिएको छ । 

नेपाल सरकारको ५० लाखको सहयोगमा दुई हजार सिट क्षमताको प्याराफिट थप्ने कार्य शुरु भएको हो । वि.सं २०२५ मा स्थापना भएको यो रङ्गशालाको दर्शक बस्ने प्याराफिटको क्षमता हाल तीन हजार मात्र छ । 

जिल्ला खेलकूद विकास समितिले रङ्गशालाको उत्तर र दक्षिणतर्फ प्याराफिट निर्माण गरिरहेको छ । निर्माण समितिका अध्यक्ष शङ्कर थापाका अनुसार आगामी आठौँ राष्ट्रिय खेलकूदको फुटबलतर्फको प्रदेशस्तरीय खेल यो रङ्गशालामा आयोजना गर्न प्याराफिट निर्माण गर्न लागिएको बताए । 

पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको मेची रङ्गशालामा एउटा कभर्डहल छ । सो कभर्डहलमा तेक्वान्दो, बक्सिङ, उसु, जुडो, कराँते र व्याडमिन्टन खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

समितिले खेलाडीको चापलाई ध्यानमा राखेर थप दुई कभर्डहल बनाउनका लागि सरकारसँग बजेटको माग गरेको अध्यक्ष थापाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?