वीरगञ्ज । प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट संघ विजयी भएको छ ।
वीरगञ्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट संघलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो ।
प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित भएका छन् । आजको फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट संघले ९ दशमलव ४ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि जितेको हो ।
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट संघले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो । उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट संघले नगद रु ३० हजार, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट संघले भने नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो ।
दृष्टिविहीन खेलाडीको आत्मबल तथा आत्मविश्वास बढाउनुका साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा चारवटै प्रदेशका गरी १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए । नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए ।
प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट संघका कार्यक्रम संयोजक महेश साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया