चोरी गर्ने समूह मध्येका ४ जना पक्राउ

भक्तपुर–    भक्तपुरका बिभिन्न स्थानबाट दिउसोको समयमा घरमा कोही नभएको अवस्थामा सुनका गरगहना तथा नगद चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं अत्तरखेल बस्ने काभ्रे तिमाल गाउँपालिका-३ समथलीका २९ वर्षीय बिबेक भन्ने वाङदेन तामाङ, सोही ठाउँ बस्ने काभ्रे भुल्लु गाउँपालिका-३ का २२ वर्षीय बिकाश भन्ने सुमन लामा, काठामाडौं महानगरपालिका चाबहिल बस्ने मोरङ केराबारी गाउँपालिका-२ का २३ वर्षीय सन्तोष बिक र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने भारत महाराष्ट्राका २७ वर्षीय सचिन भन्ने बैभव बापुसो भोसले रहेका छन् ।

उनीहरुमध्ये तामाङ र लामा चोरी गर्ने मुख्य अभियुक्त तथा बिक चोरीका गरगहना बिक्री गर्ने कार्यमा सहयोगी र भोसले चोरीका गरगहना खरिद गरी गालेर बिक्री बितरण गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

उनीहरुबाट सुनका गरगहना अन्दाजी १६.५ तोला, सुनको सिक्का १ थान, गालेका चाँदीका टुक्रा ४२ तोला, नगद १९ लाख ५८ हजार ७ सय ५० नेपाली रुपैयाँ, २५ हजार ५ सय भारतीय रुपैयाँ, मोटरसाईकल ३ थान, मोबाईल सेट ५ थान, फलाम काट्ने मेसिन १ थान,  कटर ब्लेड ४ थान, चोरी कार्यमा प्रयोग हुने औजार २ थान, सुन राख्ने बट्टाहरु, गहना तथा सहकारीका रसिदहरु लगाएत गणेशको मूर्ती र शंख समेत प्रहरीले बरामद गरेको छ ।

चोरी कार्यमा संलग्न रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?