काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटलाई वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलले दुई खर्ब ४४ अर्ब रुपैयाँ बराबरले घटाए हुन् ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन् ।
चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।
चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो ।
त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।
वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया