काठमाडौं । भैरहवा ग्लाडियटर्सले काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौंले दिएको १ सय १ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । भैरहवाको जीतमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल नौ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन जोडे ।
काठमाडौंका संसद् शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे भने प्रदीप साहुले २५ तथा अमित श्रेष्ठले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाडौंलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन विकेट लिए भने मोहमद नाभिदले दुई विकेट झारे । जीतसँगै भैरहवाले यही पुस ७ गते शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया