दिल्लीपछि बीबीसीको मुम्बई कार्यालयमा पनि आयकर विभागको छापा, कार्यालय सिल

लोकपथ
105
Shares

काठमाडौं । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) को मुम्बई कार्यालयमा पनि आयकर विभागले छापा मारेको छ । आयकर विभागको ६०-७० सदस्यीय टोलीले बीबीसीको कार्यालय पुगेर अनुसन्धान थालेका हुन् । हाल कार्यालय भित्र आउन र बाहिर निस्कन पनि रोक लगाइएको छ ।

भारतीय मिडियाका अनुसार बीबीसीको कार्यालय सिल गरिएको छ र सबै कर्मचारीका फोन जफत गरिएको छ।

यसअघि आजै बीबीसीको दिल्ली कार्यालयमा छापा मारेको थियो । विभागका कर्मचारीको छापापछि सबै बीबीसीका कर्मचारीहरुलाई घर जान भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा केही समयअघि बीबीसीले एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रप्रति असन्तुष्ट मोदी सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि नै प्रतिबन्ध लगाएको थियो ।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाबारे बनाइएको वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक गरिए पनि तत्कालै सरकारले बन्द गरिदिएको थियो ।

बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न भारतको सूचना तथा प्रशारण मन्त्रालयले निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले रोकिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?