काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट दशौं चरणको खेलहरु शुरु हुँदैछ ।
आज हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबको सामना गर्नेछ । सातदोबाटेस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल विहान ११ बजेपछि शुरु हुनेछ । जारी लिगको एक खेल पनि जित्न नसकेको मच्छिन्द्र सरस्वती क्लबलाई हराउँदै जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।
यता सरस्वती क्लब पनि मच्छिन्द्रविरुद्ध कडा खेल खेल्ने मनस्थितीमा छ । १० अंक बनाएको सरस्वती क्लब लिगको नवौं स्थानमा छ भने ३ अंक जोडेको मच्छिन्द्र लिगको अन्तिमको दोस्रो स्थानमा छ ।
त्यस्तै आजै हुने अर्को खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम ‘एनआरटी’सँग प्रतिस्पर्धा गर्दैछ । यी दुई क्लबबीचको खेल दिउँसो साढे २ बजेपछि हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा हुनेछ ।
दुवै क्लब जीतको खोजीमा हुनेछ । ८ अंक बनाएको जावलाखेल दशौं स्थानमा छ । १ अंक मात्र बनाएको ‘एनआरटी’ क्लब लिगको अन्तिम स्थानमा छ ।
यता आजै हुने तेस्रो खेलमा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबसँग आमने-सामने हुँदैछ । १४ अंक बनाएको हिमालयन शेर्पा क्लब लिगको छैटो तथा ५ अंक बनाएको फ्रेन्ड्स क्लब १२ औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया