काठमाडौं । केही समयअघि अमेरिकामा ठूला जासुसी बेलुन आकाशमा देखिएका थिए जसलाई अमेरिकी वायुसेनाले खसालेकाे थियाे । अमेरिकाले यसबारे चीनले जासुसी गरेको आरोप लगाएको थियो । अमेरिकाले लगाएको आरोपपछि तत्कालै चीनले त्यसको खण्डन गरेको थियो ।
यसैबीच अहिले रोमानिया र मोल्डोभाको आकाशमा पनि त्यस्तै जासुसी बेलुन देखिएका छन् । तर यसपटकको जासुसी बेलुनमा भने केही फरकपन पाइएको छ । अमेरिकी आकाशमा जासुसी बेलुन देखिएपछि अमेरिकी वायुसेनाले उक्त बेलुनलाई खसालेका थिए भने रोमानिया र मोल्डोभाको आकाशमा देखिएका बेलुन खसाल्न निशाना बनाउदा उक्त बेलुनहरु गायब भएका थिए र धेरै खोज्दा पनि बेलुनको बारेमा केही पत्ता नलागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रोमानियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ कि उनीहरूको वायुसेनाको निगरानी प्रणालीले हावामा बेलुन देखेको थियो । त्यसपछि दुई एमआइजी २१ ल्यान्सर विमानहरू दक्षिण पूर्वी रोमानियाको वायुक्षेत्रमा पठाइएको थियो जहाँ बेलुन देखा परेको थियो। तर, जेटले आकाशमा पुग्दा त्यस्तो केही पनि नदेखेको बताएका थिए । लामो समयसम्म हावामा खोजी गरेपछि फाइटर जेट करिब ३० मिनेटपछि बेसमा फर्किएको थियो। रक्षा मन्त्रालयको निगरानीमा बेलुन ११ हजार फिटको उचाइमा उडेको देखिएको बताइएको छ ।
रोमानियाको छिमेकी देश मोल्डोभामा पनि यस्तै रहस्यमयी बेलुन देखिएको छ । मोल्डोभाको नागरिक उड्डयन विभागले रक्षा मन्त्रालयबाट हवाइ उडानको अनुमति लिएर बेलुनको खोजी गरेको थियो । तर खराब मौसमका कारण मोल्डोभाले बेलुन बरामद गर्न भने सकेनन् ।
अमेरिकामा जासुसी बेलुन देखिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा तनाव बढेको छ । अमेरिकाले आरोप लगाएको छ बेलुनमा जासुसी उपकरण जडान गरिएको थियो। तर, चीनले जासुसीको खण्डन गर्दै यो मौसम विज्ञानका बेलुनहरू भएको र संयोगवश अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया