काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति अपेक्षा सम्वन्धी सर्वेक्षण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो ।
सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० (जनवरी ८ देखि १४ जनवरी, २०२३) सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको राष्ट्र बैंकको भनाई छ ।
प्रस्तुत परिणामहरू दुई हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको रहेको र उक्त प्रतिवेदन अनुसार ८४ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्ट बाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।
गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यूस पेय पदार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
राष्ट्र बैकका अनुसार तीन महिना पछि र एक वर्ष पछिका अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया