कास्की । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६ औँ संस्करणको समेत विजेता हुन् ।
अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले रू पाँच लाख पुरस्कार पाए । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।
यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भइन् । उनले रू तीन लाख पुरस्कार प्राप्त गरिन् । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय भए । उनले रू दुई लाख पुरस्कार पाए । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गरेका थिए ।
केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाएका छन् । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।
हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक
यसैगरी पोखरा म्याराथनअन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जितेकी छन् । योसँगै उनले पोखरा हाफ म्याराथन उपाधिमा ह्याट्रिक गगरेकी छन् ।
राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दैै च्याम्पियन बनेर रू एक लाख ५० हजार पुरस्कार पाइन् । उनले यसअघि २०७७ र २०७८ सालमा समेत उपाधि आफ्नो पोल्टामा पारेकी थिइन् ।
यस्तै, सशस्त्र प्रहरीको एपिएफ क्लबकी वृन्दा श्रेष्ठले द्वितीय हुँदै रू एक लाख पुरस्कार पाइन् । उनले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गरिन् । सेनाकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी तृतीय बन्दै रू ७५ हजार पुरस्कार प्राप्त गरिन् । नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेन्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बनिन् । उनले रू १५ हजार पुरस्कार पाइन् ।
यसैगरी, १० किमी महिला दौडमा सशस्त्र प्रहरीकी आशा राउतले उपाधि जितिन् । उनले निर्धारित दूरी ५० मिनेट १२ सेकेन्डमा पूरा गर्नुभयो । नेपाल प्रहरीकी वृष्मा कुमाल द्वितीय र नेपाली सेनाकी कल्पना खड्का तृतीय भइन् । पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्वितीय र पाँचथरका दीपक सुहाङ तृतीय भए ।
महिला तथा पुरुष १० किमीको दौडका प्रथम, द्वितीय र तृतीयले समान क्रमश : रू ३० हजार, रू २० हजार र रू १५ हजार पुरस्कार पाउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पूरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया