खेलकुदमा हुने अनावश्यक राजनीतिकरणमा चुप लागेर बस्दिन : उपाध्यक्ष तिम्सिना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताएका छन् । 

नेप्लीज तेक्वान्डो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद् बिकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिम्सिनाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने सरकारको अभियानलाई सफल पार्न देशब्यापी रुपमा यसरी नै खेलकुदका कार्यक्रमहरु आयोजना भईरहेको स्मरण गराए । 

उपाध्यक्ष तिम्सिनाले खेलकुदसँगको समानान्तर संघहरु गठन हुनुले कलिला खेलाडीहरुको भबिष्य अन्यौलता तर्फ धकेलिने भएकाले यस तर्फ सर्तक रहन समेत सम्बन्धित पक्षलाई जानकारी गराए।

उनले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकुद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनी समेत दिए । एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्डो एकेडमी पहिलो भयो । त्यस्तै शारदा एकेडमी दोस्रो तथा बालगिताञ्जली स्कूल तेस्रो भयो ।

 कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका डोजाङ्ग तथा बिभिन्न बिद्यालयका करीव २ सय जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताका विभिन्न उमेर तथा तौल समूहका बिजेता पुरुष तथा महिला खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । 

यसैबीच कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिका सधै खेलकुदको बिकासमा लागिपरेको बताउँदै राखेपलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?