पामलाई अन्तर्राष्ट्रिय जुडोको उपाधि

काठमाडौं । पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । 

८ स्वर्ण, ५ रजत र २ कास्य पदकका साथ पाम समग्रमा टिम च्याम्पियन बनेको हो । दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पा¥यो । २ स्वर्ण र ५ कास्य पदक जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।

नेपाल खेलकुद महासंघ ‘नेकोस’ अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ३० केजीमुनि दाङका सुन्दर राणा, ४० केजीमुनि पामका प्रवीणकुमार दियाली, ५० केजीमुनि होप्याडका देव लोहार, ६० केजीमुनि पामका जनक तामाङ र ६६ केजीमाथि जापानका सोजी दाइकी पहिलो भए ।
यता महिलातर्फ २४ केजीमुनि समिता नेपाली, ३२ केजीमुनि पामकी विनिता नेपाली, ४१ केजीमुनि प्राइमकी सरिता मगर र ४८ केजीमुनि पामकी रत्ना तामाङले स्वर्ण पदक जिते ।

दुईदिने प्रतियोगिताका विजेतालाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?